आजै साँझसम्ममा प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट आउने, अझै एक जना फरार रहेको प्रहरीको दाबी

काठमाडौं  मंसिर २३ । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान क्रममा पक्राउ परेका दुई युवकको डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै अगाडि कसुर स्वीकार गरेको दाबी गरिएका प्रदीप रावल र स्थानीय विशाल चौधरीको डीएनए रिपोर्ट साँझसम्म आउन सक्ने प्रहरी स्रोतले जनाएको हो ।घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसनधान ब्यूरो सीआईबी स्रोतले भन्यो, ‘सम्भवतः आजै साँझसम्ममा रिपोर्ट आइसक्छ। चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नु पर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीँ खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।’यसअघि १७ मंसिरमा अभद्र व्यवहार गरेको अरोपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले रावलमाथि मुद्दा चलाएको थियो ।

 

त्यसक्रममा सीआईबीमा ल्याएर सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्वीकार्दै थप दुई जनाको नाम लिएको प्रहरीले दाबी गरेको थियो ।जसको आधारमा कञ्चनपुरस्थित सालघारीका विशाल र दिनेश चौधरीलाई पक्राउ गरिएको दाबी प्रहरीको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको थियो । सीआईबीका एक अनुसन्धान अधिकारी भन्छन्, ‘घटनामा संलग्न एक जना अझै खोजीरहेका छौं ।’ती अधिकारीले निर्मलामाथि सामूहिक बलात्कार भएको दाबी गर्दै चन्द थरका अर्का एक जना फरार रहेको दाबी गरे । यद्यपि, यसअघि सीआईबी समेत संलग्न भएको अनुसन्धान टोलीले निर्मलाको बलात्कारमा एक जना मात्रै संलग्न रहेको निष्कर्ष निकालेको थियो ।

 

प्रदीपले गाउँलेसँग आफू निर्मलाको प्रेमी भएको बताउने गरेको समेत प्रहरी दाबी थियो भने घटना भएको दिन उनको मोबाइल घटनास्थल वरपर देखिएको बताइएको थियो । जसको आधारमा उनीमाथि शंका बढाइएको थियो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पनि शनिबार निर्मलाको हत्यारा पक्राउ परिसकेको दाबी गरेका थिए । उनले भनेका थिए, ‘निर्मलाका हत्यारा चाँडै सार्वजनिक गर्छौं ।‘यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टले पनि कसुर स्वीकार गरेका थिए । तर, डी एनए नमिलेपछि उनी छुटेका थिए ।

 

अनुसन्धानका क्रममा भेटिएका अर्का एक व्यक्तिले पनि कसुर स्वीकार गर्दै ‘बञ्चरो’ले निर्मलाको हत्या गरेको दाबी गरेका थिए ।प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त भइसकेका छन् भने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु पनि निलम्बित भएका छन् ।अहिले मुख्य अभियुक्तको रुपमा देखाइएका रावल तिनै व्यक्ति हुन्, जसलाई सीआईबीका निलम्बित डीएसपी अंगुर जिसीको टोलीले पक्राउ गरेर घटनामा संलग्नता नदेखिएपछि छाडेको थियो ।