वडा कार्यालय किराना पसलमा

काठमाडौं मंसिर २३। बोहोरागाउँको केन्द्र भागमा एउटा चल्तीको किराना पसल छ। त्यही किराना पसलको भित्र पट्टी निसीखोला गाउँपालिका–४ को वडा कार्यालय। वडाध्यक्ष र सचिवलाई पसल मालिक भन्ठानेर सामान माग्ने ग्राहक धेरै आउँछन्। सा मान माग्ने ग्राहकलाई वडाको स्थिति बताउनु जनप्रतिनिधि र कर्मचारीको बाध्यता नै भएको छ।किराना पसलमा टेबल कुर्ची राखेर वडा कार्यालयले सेवा प्रवाह गर्दै आएकाले किराना पसलमा आउने ग्राहक झुक्किने गरेको स्थानीय बताउँछन्। साविकका गाविस अहिले रुपान्तरित वडाको आफ्नै भवन र कार्यालय भए पनि वडा नम्बर ४ को आफ्नै भवन नहुँदा किराना पसलबाट सेवा प्रवाह गर्न बाध्य भएको निसीखोला गाउँपालिका–४ बोहोरागाउँका वडाध्यक्ष सूर्यबहादुर घर्तीले बताए।

 

वडा कार्यालयले स्थानीय भागीबहादुर घर्तीको घरको एक कोठा मासिक ४ हजार भाडामा लिएको छ। तर, उक्त कोठा अध्यारो भएकाले टेबुल कुर्चीहरू भने किराना पसल बाहिरै राखेर नियमित सेवा प्रवाह गर्ने गरिएको अध्यक्ष घर्ती बताउँछन्। ‘आफ्नै भवन तया र नभएकाले कोठा भाडामा लिएका छौं, तर कोठा केही अध्यारो छ’, उनले भने, ‘भाडाको कोठामा महत्वपूर्ण कागजात राख्ने गरेका छौं, सेवा प्रवाह भने किराना पसल बाहिरैबाट दिँदै आइरहेका छौ।’यसरी सेवा प्रवाह गर्नुपर्दा अप्ठ्यारो महसुस भइरहेको अध्य क्ष घर्तीले अनुभव सुनाए। वडा कार्यालयले भवन निर्माण केही वर्ष अघि सुरु गरेपनि अहिले बजेट अभावमा अलपत्र अवस्थामा छ। द्वन्द्वकालमा क्षतिग्रस्त भएर शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट दुई आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन भएर केही काम समेत भएको थियो।

 

तर, निर्माण कार्य अघि बढाइए पनि पछिल्लो संघीय अभ्याससँगै केही जटिलता देखिएको छ।भवनको काम गर्दै आएको जिल्ला प्राविधिक कार्यालय समेत खारेज भएपछि बजेटको उपलब्धता र भवन सम्पन्न गर्ने विषयमा थप अन्यौलता सिर्जना भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए।अहिले निसीखोला गाउँपालिकाका ७ वडामा जम्मा दुई सचिवले काम चलाइरहेका छन्। वडा नम्बर ४ बोहोरागाउँ सहित ४ वटा वडासचिव टीकाराम भट्टराई एक्लैले हेर्ने गरेका छन्। सचिवको काम पनि आफैंले गनु पर्ने अवस्था आएको वडाध्यक्ष घर्ती बताउँछन्। सेवाग्राहीलाई गाउँपालिका केन्द्र पुग्न पनि गाडीमा डेढ घण्टा र पैदल यात्राबाट चार घण्टा भन्दा बढी लाग्ने गरेको छ।