योगी आदित्यनाथको नेपाल ‘कनेक्सन यस्तो छ

काठमाडौं, मंसिर २६ ।  २०७३ कात्तिक ४ गते काठमाडौंको वनकालीमा आयोजित अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनमा सहभागी हुन योगी आदित्यनाथ आएका थिए । त्यही कार्यक्रममा थिए पूर्व राजा ज्ञानेन्द्र । समारोहमै आदित्यनाथले ‘हाम्रो मिसन   हिन्दु राजा, हिन्दु प्रजा’ भन्ने अभिव्यक्ति दिए । त्यसले उत्साहित भएका ज्ञानेन्द्रले पुनः राजा हुने आकांक्षासमेत प्रकट गरेका थिए । उनी उक्त सम्मेलनका सहआयोजक नै थिए । आयोजक भरतकेशर सिंह थिए ।

 

 २०७४ पुसमा पूर्व राजा ज्ञानेन्द्र आराम गर्न नेपालगन्ज गएको सार्वजनिक भयो । तर उनी पुगेका रहेछन् लखनऊ, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न । ज्ञानेन्द्रसँग भेट गरेपछि योगीले ट्वीट गरे– आज लखनऊस्थित सरकारी आवासमा नेपालका पूर्व नरेश श्री ज्ञानेन्द्र वीरविक्रम शाहले भेट गरे ।’ भेटमा के कुराकानी भयो, सार्वजनिक गरिएन ।

 

नेपालमै आएर खुल्ला रुपमा राजतन्त्र र हिन्दु राष्ट्र फर्काउन आव्हान गर्ने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ धार्मिक यात्राका क्रममा जनकपुरमा छन् । योगीको दिनभर नै राजनीतिक भेटघाटको कुनै कार्यक्रम नरहेपनि उनको जनकपुर आगमनले हिन्दुत्वको पक्षमा सन्देश जाने जानकारहरु बताउँछन् । खासगरी योगीको पूर्व राजा ज्ञानेन्द्रसँग रहेको निकट सम्बन्ध र उनले हिन्दुत्वका पक्षमा दिने चर्को अभिव्यक्तिले पनि नेपालका एकथरि राजनीतिक तप्का मनोवैज्ञानिक रुपमा सतर्क भएको विश्लेषण गरिएको छ । योगी नेपाल आएका बेला पूर्व राजा ज्ञानेन्द्रलाई नभेटी जाँदैनन् । संविधान निर्माण हुनुअघि पनि उनी नेपाल आएका थिए ।

 

आदित्यनाथ उत्तरप्रदेशको मुख्यमन्त्री भएको बेलामा नेपालका हिन्दुवादीहरुमा उत्साहको लहर छाएको थियो । तर, मुख्यमन्त्री भएपछि योगीले सार्वजनिक रुपमा हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा वकालत नगरेपनि पूर्व राजा ज्ञानेन्द्रलगायत हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नेहरुसँग सम्बन्ध निरन्तर रहेको बताइएको छ ।

 

योगी र नेपालका राजपरिवारको कनेक्सन ऐतिहासिक रुपमै रहेको मानिन्छ । गोरखनाथ शाहवंशको कुलदेवताका रुपमा मानिन्छन्। त्यसैले गोरखपुरस्थित गोरखनाथ मन्दिरमा महन्तबीच सम्बन्ध रहँदै आएको छ । आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालको जुम्लास्थित चन्दननाथ, दाङको सिद्ध रत्ननाथ, थापाथली मन्दिर, मृगस्थलीको नाथ अखाडासँग पूरानो साँस्कृतिक सम्बन्ध छ । गोरखपुर मन्दिरको सम्पत्ति नेपालमा समेत रहेको बताइएको छ । यसैगरी, नेपाल र भारतका धार्मिक मठमन्दिर साझाजस्तै भएकालेपनि योगीको भावनात्मक निकटता नेपालसँग रहेको बताइएको छ ।

को हुन् योगी आदित्यनाथ  

सन् १९७२ को ५ जुनमा उत्तराखण्डको पौडी गढवाल जिल्लाको यमकेश्वर तहसीलको पन्चुर गाउँमा गढवाली राजपुत परिवारमा उनको जन्म भएको हो । उनले १९९२ मा श्रीनगरको हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयबाट गणितमा बीएस्सी गरेका थिए । १९९३ मा गणितमा एमएस्सी पढाईका क्रममा गुरु गोरखनाथमाथि अनुसन्धान गर्न उनी गोरखपुर आए । त्यही क्रममा उनको सम्पर्क महन्त अवैद्यनाथसँग भएको थियो । अवैद्यनाथ उनको छिमेकी गाउँका परिचित मानिस थिए । उनले अवैद्यनाथसँगै दीक्षा लिए र १९९४ मा पूर्ण सन्यासी बने । त्यसपछि उनको नाम अजयसिंह विष्टबाट योगी आदित्यनाथ भयो ।

 

१२ सेप्टेम्बर २०१४ मा गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथको निधनपछि उनलाई महन्त बनाइयो । २ दिनपछि उनलाई नाथ पन्थको पारम्परिक अनुष्ठान अनुसार मन्दिरको पीठाधिश्वर बनाइयो ।

 

सन् १९९८ मा उनले गोरखपुरबाट भाजपाको उम्मेदवारका रुपमा चुनाव लडे र विजयी पनि भए । उनी १२ औं लोकसभामा २६वर्षकै उमेरमा कान्छा सांसद बने । १९९९ मा पनि उनी पुनः गोरखपुरबाट सांसद भए । २००४ मा तेस्रोपटक लोकसभाको चुनाव जिते । २००९ मा २ लाखभन्दा बढी भोट पाएर लोकसभा पुगे । २०१४ मा पाँचौपटक सांसद चुनिए । २०१४ को लोकसभा चुनावमा भाजपालाई बहुमत प्राप्त भयो । २०१७ को विधानसभा चुनावमा उनले भाजपालाई भारी बहुमतबाट विजयी गराए । १९ मार्च २०१७ मा बिजेपी विधायक दलको बैठकले उनलाई नेता चुनेर मुख्यमन्त्रीको पद सुम्पिएको थियो ।

स्पेसखबरबाट साभार