मापसे गर्ने चालक २४ घण्टामा २६ जनालाई कारवाही

काठमाडौं। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले १ नम्बर प्रदेशमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २६ जना चालकलाई २४ घण्टाको अवधिमा पक्राउ गरेको छ ।हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्ममा ती चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सोही अवधिमा मोटरसाइकलमा ३ जना चढेर यात्रा गर्ने १९ जना चालक र बिना हेल्मेट मोटरसाइकल चलाउने १७ जना चालकलाई कारवाही गरिएको सो कार्यालयले जनाएको छ ।

 

त्यस्तै, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ७७ जना, सवारी चालक अनुमति पत्र नभएका ४६ जना, सवारी चालक अनुमतिपत्र नभएकालाई सवारी साधन चलाउन दिने ३० जना कारवाहीमा परेका छन् ।

 

कार्यालयले जनाएअनुसार जथाभावी पार्किङ गर्ने २३ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६२ जना, पार्किङ निषेधमा सवारी साधन पार्किङ गर्ने १२ जना र सुरक्षा पेटी नबाँधी सवारी चलाउने १७ जना कारवाहीमा परेका छन् ।