शहीद स्मारक ए डिभिजन फुटबल पुलिसद्वारा फेन्डस पराजित


काठमाडौँ  मंसिर २८ ।   शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा अखिल नेपाल फुटबल सङ्घ कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

 

पुलिसका लागि पहिलो गोल अभिषेक रिजालले गरे । उनले खेलको तेस्रो मिनेटमा नै रवि पासवान पासलाई सदुपयोग गर्दै गोल गरे । त्यस्तै खेलको पहिलो हाफको २०औँ मिनेटमा अर्का खेलाडी रवि पासवानले एक गोल थप्दै पुलिसको अग्रता दोब्बर बनाए । उनले हेम तामाङको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

 

खेलको पहिलो हाफसम्म २–० गोलअन्तरले अगाडि रहेको पुलिसले दोस्रो हाफमा तीन गोल थप्यो । खेलको ५९ औं मिनेटमा कप्तान भरत शाहले गोल गर्दै पुलिसको अग्रता तेब्बर बनाए । उनले रवि पासवानको पासमा गोल गरेका थिए ।

 

त्यसैगरी खेलको ६३ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गरे भने खेलको ८७ औँ मिनेटमा नीरकुमार राईले एक गोल थपेपछि पुलिसले फ्रेण्डसमाथि ५–० को सहज जित हात पा¥यो । जितसँगै आठ खेल खेलेको पुलिसले १४ अङ्क जोडेको छ भने समान खेल खेलेको फ्रेन्डसको पाँच अङ्क छ ।