३ लाखदेखि १५ लाख रुपैयाँसम्म एनएमबी बैंकले बिना धितो सहुलियतपूर्ण ऋण दिने

काठमाडौं पाैष ०२ ।  एनएमबी बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाख रुपैयाँसम्म बिन धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंकले कर्जा उपलब्ध गराउने भएको हो । बैंकले सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबी सहुलियतपूर्ण कर्जा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

 

जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण बिनाधितो उपलब्ध गराउने बैंकले जानकारी गराएको छ । बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ ।

 

 

त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो ।

 

 

यस्तै, बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्न एनएमबी सहारा बचत खाता पनि सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत विभिन्न १८ प्रकारका रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने समेत जानकारी दिएको छ ।