मदिरा र चुरोट किने पैसा नदिएको झोँकमा हजुरबा र हजुरआामाको हत्या

बैतडी, पुस ३ । जिल्लाको सुर्नया गाउँपालिका ७ शिखरपुरका लोकेन्द्र कुँवरले मदिरा तथा चुरोट र चरेस सेवन गर्नका लागि पैसा नदिएको झोँकमा हजुरबा र हजुरआामाको हत्या गरेको खुलेको छ ।

 

शनिबार बिहान ११ बजेतिर सबैभन्दा पहिला आफ्नी श्रीमतीलाई कुटपिट गरेका लोकेन्द्रले त्यसपछि आफ्ना भाइलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए। भाइ अमर प्रहरीलाई खबर गर्न गएका बेला चिरपटले हानेर बाजेबज्यैको हत्या गरेको खुलासा भएको उनले बताए।

 

लोकेन्द्रका बाजे ८४ वर्षीया गगन कुँवर र ७६ वर्षीया नारु कुँवरले सामाजिक सुरक्षा भत्ताको रकम बुझेको र रकम माग्दा नदिएको झोँकमा चिरपटले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केही वर्ष अघि सशस्त्र प्रहरीको भगौडा समेत रहेका लोकेन्द्रले केही वर्ष भारतमा काम गरेको र पछि घरमा आएर चरेस, गाँजा र मदिरा सेवन गरी जहिले पनि घरपरिवारलाई पैसा माग्ने गरेको प्रहरीले जनाएको छ।

 

नातीले हत्या गरेका कुवरको दम्पतिको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टपार्टम पछि आफन्तलाई बुझाइएको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा मदिराका कारण विभिन्न घटनाहरू हुँदै आएका छन्।

 

लोकेन्द्रले आफ्ना बाजेबज्यैको चिर्पटले हत्या गरेपछि अहिले गाउँमा सन्नटा छाएको छ। अकल्पनीय दुर्घटना भएकाले गाउँ शोकमा डुबेको ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए। बाजेबज्यैको हत्या गर्ने लोकेन्द्रलाई नियन्त्रण लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीले जानकारी दिए।