७ सय ९३ कर्मचारी कारबाहीमा

काठमाडौं, पुस १२ ।राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न १४ जिल्लाका २४० वटा सरकारी कार्यालयमा गरेको आकस्मिक छड्केमा ७ सय ९३ कर्मचारी कारबाहीमा परेका छन् ।

 

सरकारी कर्मचारीहरुबाट प्रभावकारी सेवा हुन नसकेको भन्दै गुनासो आउने क्रम बढेपछि सतर्कता केन्द्रले ती जिल्लामा विभिन्न टोलीलाई छड्के अनुगमनका लागि पठाएको हो ।केन्द्रबाट खटिएका ती टोलीले पछिल्ला केही सातायता ती कार्यालयमा पुगि कर्मचारीहरुको कार्यालय समय, पोसाक तथा सेवा प्रवाहबारेमा आकस्मिक छड्के गरेको थियो ।

 

छड्केका क्रममा ५ सय ५३ जना कर्मचारी तोकिएको कार्यालय समयभन्दा निकै ढिलो गरी कार्यालयमा आएको पाइएको थियो भने २ सय ४० जना कर्मचारी तोकिएको पोसाक नलगाई कार्यालय आएको सतर्कता केन्द्रले जनाएको समाचार राजधानी दैनिकले छापेको छ ।