यस्तो बन्दैछ प्रदेशमा लोकसेवा आयोग

काठमाडौं, पुस १४ । संविधानको धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी व्यवस्था छ। प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानुनबमोजिम हुने भनिए पनि सोही धाराको उपधारा ३ मा ‘संघीय संसदले कानुन बनाई आधार र मापदण्ड निर्धारण गर्नेछ’, भन्ने उल्लेख छ।

 

 कनुन नबनेकाले प्रदेश लोकसेवा गठन गर्न नसकिएको र आवश्यक कर्मचारीको व्यवस्था नभएको भन्दै प्रदेश सरकारले असन्तुष्टि जनाइरहेको वेला सरकारले विधेयक संघीय संसदमा पुर्याएको छ।

 

प्रदेश लोकसेवा आयोग गठन गर्ने आधार र मापदण्डसहितको विधेयक आइतबार दर्ता हुने क्रममा रहेको संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार प्रतिनिधिसभा विधेयक पुर्‍याए पनि दर्ता हुन सकेको छैन।आजको नयाँ पत्रिका दैनिकबाट।  ,

 

केन्द्र प्रदेश लोकसेवा आयोग गठनको बाटो खोल्न यो विधेयक ल्याएको हो। प्रदेश लोकसेवा आयोगमा अध्यक्षसहित बढीमा तीन सदस्य रहने प्रस्ताव सरकारले विधेयकमा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा दर्ता गर्न तयार गरेको विधेयकअनुसार अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा एक सिफारिस समिति गठन हुनेछ।

 

सिफारिस समितिमा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता सदस्य रहनेछन्। समितिको सिफारिसमा प्रदेश प्रमुखले लोकसेवा आयोगका अध्यक्ष र सदस्य नियुक्ति गर्नेछन्।