निर्मला हत्या प्रकरण: तत्कालीन एसपी डिल्लीराज बिष्ट अदालतमा हाजिर

काठमाडौं ,चैत ५ । कञ्चनपुरकी १३ बर्षीय नाबालिका निर्मला पन्त बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् ।

निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि बिष्ट मंगलबार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्। लामो समयदेखि सम्पर्क बिहीन रहेका बिष्ट मंगलबार करिब ११ बजेतिर अदालतमा उपस्थित भएको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ ।

 

उनका अनुसार बिष्टको बयान लिने तयारी भएको छ। यसअघि गत फाुगन ३० गते यही प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाडेको थियो । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको थियो ।

 

अदालतले डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको थियो । यस्तै प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको थियो ।

 

तत्कालीन एसपी विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप छ । यही अभियोगअनुसार उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको हो ।