तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट हुने

काठमाडौँ, वैशाख१६ ।यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ । मन्द्रास सेक्युरिटी प्रिन्टर्सलाई प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दाबी छ ।

 

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट गरिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अबको तीन महिनामा प्रिन्ट र डेलीभरि गर्छौ, बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट हुन्छ, पहिलो चरणमै सात लाख ५० हजार स्मार्टकार्ड ल्याउँछौं ।’ विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ । मास प्रिन्टरले प्रतिघण्टा पाँच सय स्मार्टकार्ड प्रिन्ट गर्ने र सफ्टवेयर पनि सोही अनुसार डिजाइन गरिने महानिर्देशक दाहालको भनाइ छ । प्रिन्ट गरेर सकिए लगत्तै प्रदेश कार्यालयबाट पनि लाइसेन्स प्रिन्टको काम सुरु गर्ने तयारी भएको विभागले जनाएको छ ।

 

साढे दुई वर्षसम्म लाइसेन्स नपाउने वा नवीकरण नहुने समस्या २०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागु गरेपछि भएको हो तर विभागले दीर्घकालीन समस्याको समाधान खोज्न सकेको छैन । नत माग अनुसारको आपूर्ति नै गर्न सकेको छ । दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक एकहजार पाँचप्रति मात्र प्रिन्ट गर्न सक्छ ।

हालसम्म आठ लाख ५६ हजार स्मार्ट लाइसेन्स वितरण गरिएको छ । नेपालमा करिब ३० लाख भन्दा बढी लाइसेन्स वाहक छन् । विभागसँग सात वटा प्रिन्ट मेसिन छन् ।

सरकारले लाइसेन्स प्रिन्ट गर्न मालिका इन कार्पोरेटलाई दिएको थियो तर त्यसले पनि काम सम्पन्न गर्न सकेन । तोकिए भन्दा दोब्वर समयमा पनि बाँकी लाइसेन्स प्रिन्ट गर्न सकेन् । छ लाख लाइसेन्स प्रिन्ट गर्नुपर्नेमा तीन लाख ६० हजार मात्र प्रिन्ट गरेको थियो । प्रदेश सरकारले लाइसेन्सको काम गर्ने भनेर कम्पनीसँग गत पुस २८ गते सम्झौता तोडेको थियो ।

विभागका अनुसार लाइसेन्स वितरणको काम प्रदेश सरकारको हो तर प्रदेश सरकारहरूसँग न भौतिक संरचना छन् न जनशक्ति नै । अहिलेसम्म कुनै पनि प्रदेशले लाइसेन्सको काम नगरेको विभागले जनाएको छ । प्रदेशमा भौतिक संरचनाको निर्माण तथा सफ्टवेयरको काम पनि अघि बढ्न नसकेको विभागले जनाएको छ ।

 

विभागले आवश्यक परेकालाई तत्काल एकै दिनमा पनि लाइसेन्स दिने व्यवस्था गरेको छ । बैदेशिक रोजगारीमा तथा शान्ति मिसनमा जाने वा अत्यावश्यक भनेर सम्बन्धित कार्यालयले तोक लगाइ दिएमा एक दिनमै लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था छ ।यो समाचार गोरखापत्र दैनिकबाट ।