प्रधानमन्त्रीलाई नारा फेर्न गगन थापाको सुझाव :समृद्ध नेपाल,सुखी नेपाली’ होइन,समृद्ध दमक,सुखी केपी ओली

काठमाडौं, बैशाख २३ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा फेर्न सुझाव दिएका छन्।

संघीय संसदमा राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा टिप्पणीपछि थापाले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट योजना आयोगलाई लेखिएको पत्रमा व्यंग्य गरे।

 

योजना आयोगलाई प्रधानमन्त्रीको सचिवालयले बजेटमा समावेश गर्नुपर्ने सूचीको फेहरिस्त पठाएको सार्वजनिक भएको थियो। थापाले संसदमा भने – राष्ट्रपतिको सरकारलाई एउटै मात्र सुझाव छ सरकारले आफ्नो मूल नारा फेरोस्। अब ‘समृद्ध नेपाल, सुखी नेपाली’ होइन ‘समृद्ध दमक, सुखी केपी ओली’ भन्ने नारा बनाओस्।’

 

उनले सरकारलाई सम्बोधन गर्दा राष्ट्रपतिको सरकार भन्दै सम्बोधन गरे। संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदा राष्ट्रपतिले ‘मेरो सरकार’ सम्बोधन गरेकी थिइन्।

 

थापाले उनको शैलीलाई राजाको पालाको जस्तो भएको टिप्पणी गरे। अनि आफ्नो सम्बोधनको अन्त्यमा व्यंग्य गर्दै राजाका सम्बोधनहरूमा जस्तै पशुपतिनाथलाई सम्झिए। ‘सुखी हुन नपाउने हामीहरूको श्री पशुपति नाथले कल्याण गरुन्’, थापाले भने।