नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

काठमाडौं, असोज १५ । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग्नुपर्ने अवस्था पनि आएको छ ।

 

उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेले बुधबार सूचना जारी गरी सभामुख पद रिक्त भएको बताएकी छन् । अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको छ । नयाँ अधिवेशनले नै सभामुख चयन गर्नुपर्नेछ । नयाँ सभामुखको निर्वाचन कहिलेसम्म गरिसक्नुपर्छ भन्ने समय संविधान र प्रतिनिधि सभाको नियमावलीमा व्यवस्था नगरिँदा सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उपसभामुखले राजनीतिक दलसँगको छलफलबाट टुंगो लगाउने तयारी गरेकी छन् । राजीनामा दिएको अवस्थामा पुनः निर्वाचन गर्ने विषयमा कुनै व्यवस्था नभए पनि नयाँ आमनिर्वाचनपछिको अवस्थामा भने प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

उपसभामुखले सभामुख चयनका लागि निर्वाचनको मिति तोकेको अवस्थामा उनले निर्वाचनको दिन बैठकको अध्यक्षता गर्न पाउने छैनन् । संसद्को ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । सभामुख निर्वाचनका लागि उपसभामुखले समेत सभामुखमा उम्मेदवारी दिन सक्नेछिन् । उनले उम्मेदवारी दिएपछि उपसभामुख पद स्वतः रिक्त हुन सक्छ । यसरी उपसभामुख पद पनि रिक्त भएको अवस्थामा सभामुखमा नेकपाले अर्को उम्मेदवार पनि खडा गर्न सक्छ । यद्यपि उपसभामुखमा तुम्बाहाम्फे कायम रहँदा नेकपाले सभामुख पदमा उम्मेद्वारी दिन भने पाउने छैन । उनी हाल नेकपाको तर्फबाट उपसभामुख छिन् । संविधानले सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दल र फरक लिंगको हुनैपर्ने व्यवस्था गरेको छ ।

 

यदि उपसभामुख आफैं सभामुख उम्मेद्वार बनेर उम्मदवारी फिर्ता गर्ने समयमा फिर्ता लिएमा उनी पुनः उपसभामुखमा रहन सक्ने आधार हुँदैन । नेकपाले सभामुख पद आफैंसँग राख्न उपसभामुख तुम्बाहाम्फेले राजीनामा गर्नुपर्ने हुन्छ । तर, उनले सभामुखलाई राजीनामा बुझाउनुपर्ने भएकाले यो पनि सम्भव नभएको नेकपा नेता सुवास नेम्वाङले बताए । त्यसैले अब नेकपाले दुवैलाई सभामुखको उम्मेदवार बनाएर फिर्ता गराउँदा उपसभामुख पद भने गुमाउनुपर्ने उनी बताउँछन् । तत्कालीन एमाले र माओवादीबीच शक्ति बाँडफाँडका क्रममा माओवादीले सभामुख पद प्राप्त गरेको थियो । अहिले पनि पूर्वमाओवादीले सभामुख पदमा दाबेदारी देखिएको छ ।

 

महराले सभामुख पद गुमाएपछि पूर्वमाओवादी तर्फका देव गुरुङ, ओनसरी घर्तीलगायतका लागि सभामुख बन्ने बाटो खुलेको छ । कानुन पृष्ठभूमिका गुरुङ अहिले नेकपाका सचेतक छन् । पूर्वसभामुख भएका कारण ओनसरीको पनि सभामुख पदमा दाबेदारी छ । त्यस्तै, नेकपा वृत्तमा पूर्वसभामुख तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ आफैं सभामुख बन्न चाहेको चर्चा पनि छ । नेम्वाङ अहिले नेकपा संसदीय दलको उपनेता छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैलाई मिलाउने क्षमता भएका नेम्वाङ पुनः सभामुख हुने सम्भावना पनि छ । तर, संसदको हिउँदे अधिवेशन कहिले आह्वान हुन्छ र सभामुखको निर्वाचन कहिले हुन्छ भन्ने टुंगो नै छैन । राजधानी दैनिकमा खबर छ।