नेपाली कांग्रेसले कोरोना नियन्त्रण गर्न दियो सरकारलाई पाँच सुझाव

काठमाडौं,बैशाख ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई ५ बुँदे सुझाव दिएको छ । आज (बुधबार) कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई ५ बुँदे सुझाव दिएका हुन् ।

सुझावमा भारतसँग सीमा जोडिएको कुनै पनि नाकामा २४ सै घण्टा निगरानी राख्न, कोरोना भाइरस परीक्षणका लागि घुम्ती परीक्षण शिविर सञ्चालन गर्नुपर्ने लगायतका कुराहरु उल्लेख छन् ।

यस्ता छन् कोरोना नियन्त्रणका लागि कांग्रेसका सुझावहरु

१-अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ। पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको बिषय हो। तर कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौं।

 

२-परीक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक छ। तर यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पीसीआर विधिको ब्यापकता बढाउन जरुरी छ। सोही बमोजिमको क्षमता अभिवृद्धि गर्ने कार्यमा तदारुकताको अपील गर्दछौं।

 

३- नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परीक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेको र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ। बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न।

 

४- राजधानीको पेप्सिकोला स्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध गर्दछ।

 

(क) बेलायतबाट आएको २८ दिनपछि परिक्षण नेगेटिभ देखिनु तर नेगेटिभ देखिएका ब्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, हाम्रा सन्दर्भमा बिशेष रुपले गम्भीर बिषय हो। संक्रमित रहेका कतिपय मानिसमा बाहिर कुनै लक्षण नदेखिने तर संसर्गमा आएका कयौंलाई उसले भाइरस सार्न सक्ने चेतावनी विश्व स्वास्थ संगठनले केही अघि नै दिएको तथ्यलाई यहाँ गम्भीरता साथ स्मरण गर्न जरुरी छ।

 

(ख) लकडाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करिब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेका थिए । प्रवेश गरेका मध्ये १५ प्रतिशत भन्दा कम मात्रै क्वारेन्टिनमा बसे।

 

बिदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थिति झैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने भाइरसको संक्रमण रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्दछ। (जस्तो कि धादिङमा संक्रमण देखिएका युवा ४ दिनअघि कोरियाबाट फर्किएको विवरण आएको छ)।

 

अतः परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्याउन अनिवार्य भएको छ। अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ।

 

५। रौतहटमा संक्रमण देखिएका युवक लक डाउनको बेला पैदल हिंडेर नेपाल प्रवेश गरेको पुष्टि भएको छ। सरकारलेनै ब्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टिनमा राख्ने बिषय बाहेक अब थप गम्भीरता नाकामा जरुरी भएको छ।