नक्कली सेनिटाइजर उत्पादक र विक्रेता पक्राउ

विराटनगर, वैशाख १० । आधिकारिक निकायबाट अनुमति नै नलिई मापदण्ड विपरित ह्याण्ड सेनिटाईजर उत्पादन गरेर उपभोक्तालाई ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

सु्नसरीको इटहरी उपमहानगरपालिका–४ मनकामना टोलमा सञ्चालित सौर्य केमिकलका सञ्चालक अतित गुरागाँई र इटहरी–८ का अमरजीत गोश्वामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले दिनु भएको जानकारी अनुसार सौर्य नामक हेण्ड सेनिटाइजर उत्पादन गरेर गौतमले गोस्वामीको पसलबाट विक्री गर्ने खुलेपछि उत्पादक र विक्रेता दुवैलाई नियन्त्रणमा लिइएको छ ।

 

सरकारको कुनै पनि आधिकारिक निकायबाट उत्पादन अनुमति नलिएका कारण मनपरी मूल्यमा उपभोक्तालाई विक्री गर्ने गरिएको थियो । प्रहरीले तीनसय एमएलको २८५ बोतल, सेतो तरल पदार्थ रहेको ५०५ बोतल, ७० एमएलको ७०० बोटल, ३० एमएलको ३० बोतल र स्टीकर नटाँसेको गुलाबी रंगको १७० बोतल फरक–फरक रंगको सेनिटाईजर समेत बरामद गरेको छ ।

 

त्यस बाहेक उद्योगमा राखिएको १६२ लिटर तरल पदार्थ समेत बरामद गरिएको श्रेष्ठले जानकारी दिनुभयो । गौतमले उत्पादन गरेको सेनिटाईजर गोस्वामीले विक्री गर्ने गरेको र उपभोक्ताले बढी मूल्य तिरेर किन्न वाध्य पारेको गुनासोपछि अनुगमन गरिएको हो ।

 

पक्राउ परेका दुवैजनालाई सामाजिक अपराध तथा सजायँ ऐन २०३२ बमोजिम पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ।