स्वास्थ्य सामग्री खरिद सम्झौता अनियमितताबारे छानबिन थालियो

काठमाडौं,बैशाख १५ । स्वास्थ्य सेवा विभागले गरेको खरिद सम्झौता दुरुपयोगको आशंका बढेको छ । सम्झौता स्वीकृत भएका केही सप्लायर्सले विभागलाई स्वास्थ्य सामग्री उपलब्ध नगराई बजारमा धमाधम बिक्री गरेको गुनासो आएपछि सम्झौता दुरुपयोगको आशंका बढेको हो ।

 

विभागले गत २३ चैत २०७६ मा स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको थियो । ३० चैत २०७६ मा स्वास्थ्यजन्य सामग्री खरिदका लागि विभागले आह्वान गरेको टेन्डरमा लुम्बिनी हेल्थ केयर, ओम सर्जिकल कन्सर्न र मेडी कन्सर्न छनोट भएका थिए । तर, ती सप्लायर्सले अहिलेसम्म सबै सामग्री विभागलाई उपलब्ध गराएका छैनन् ।

– चीनबाट धमाधम स्वास्थ्य सामग्री ल्याइँदै
– विभागले अझै पाएन सबै सामान
– स्वास्थ्य सामग्रीमा कालोबजारी

सप्लार्सहरूले पीपीई, थर्मल गन, एन ९५ मास्क, सर्जिकल मास्क, गाउनलगायत स्वास्थ्य सामग्री ल्याएका थिए । उनीहरूले अझै सबै स्वास्थ्य सामग्री आई नपुगेको र आइहाले विभागलाई हस्तान्तरण गर्ने वाचा दिएका छन् ।

 

यद्यपि, टेन्डर गरिएका सामान हालसम्म लट–लटमा चीनबाट ल्याइएको छ । तर, सबै स्वास्थ्य सामग्री विभागमा पुगेको छैन । सरकारले सप्लायर्सहरूलाई स्वास्थ्य सामग्री खरिदका क्रममा भन्सार र फलाइटमा सहजीकरण गर्छ ।

 

लुम्बिनी हेल्थ केयरले १ करोड ८० लाख, ओम सर्जिकल कन्सर्नले १८ करोड र मेडी कन्सर्नले ५ करोड रुपैयाँबराबरको स्वास्थ्यजन्य सामग्री खरिदका लागि टेन्डर हालेका थिए । छनोट भएका केही सप्लायर्सले खरिद सम्झौतापत्रको दुरुपयोग गरी सामान आयात गर्दै बिक्री गरेको गुनासो आएको छ ।

 

विभागले खरिद सम्झौता दुरुपयोग नगर्न भनेको छ । टेन्डर स्वीकृत भएका सप्लायर्सहरूले व्यक्तिगत रूपमा स्वास्थ्य सामग्रीहरू बिक्री गरेको गुनासो आएपछि विभागले त्यसो नगर्न भनेको हो ।

 

विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले भने, ‘सम्झौता गरेको सामान बिक्री वितरण गरेका छन् कि छैनन् भन्ने मुख्य कुरा हो । केही सामग्री बुझाएका छन् । म नियमित सम्पर्कमा छु ।

 

विभागका अनुसार सप्लायर्सहरूसँग सम्पर्क गर्दा चीनबाट सबै सामग्री आएका छैनन् । सप्लायर्सहरूले सम्झौता भएको दुई साताभित्र विभागलाई स्वास्थ्य सामग्री बुझाउनुपर्छ ।

 

लुम्बिनी हेल्थ केयरका पोष्टराज ज्ञवालीले आगामी बुधबारसम्म टेन्डर गरिएका सामान नेपाल आइपुग्ने बताए । उनले भने, ‘खरिद गरिएका सबै सामग्री स्वास्थ्य सेवा विभागलाई उपलब्ध गराउँछौं । अझै स्वास्थ्य सामग्री आइपुगेको छैन ।’ लुम्बिनी हेल्थ केयरले ३७ हजार ५ सय पिस एन ९५ मास्क, ८ हजार पिस फेससिल र ८ हजार ५ सय पिस चस्मा खरिद गर्दै छ ।

 

एन ९५ मास्क प्रतिपिस २ सय ५०, फेससिल प्रतिपिस ४ सय २५ र चस्मा प्रतिपिस ७ सय ७५ रुपैयाँमा खरिद गरिएको ज्ञवालीले बताए ।

ओम सर्जिकल कन्सर्नमा

आबद्ध रामशरण भण्डारीले आगामी शुक्रबारसम्म स्वास्थ्य सामग्री विभागमा बुझाइने बताए । उनले भने, ‘खरिद गरिएका सबै सामान बुझाइसक्यौं । केही सामान आउन बाँकी छ ।

 

ओम सर्जिकलले १२ लाख पिस सर्जिकल मास्क, ८४ हजार पिस गाउनलगायत खरिद गर्ने सम्झौता गरेको थियो । ओम सर्जिकलका अनुसार ४ लाख पिस सर्जिकल मास्क, ३ लाख पिस ग्लोब्स र ३० हजार पिस डिस्पोजिबल क्याप सरकारलाई बुझाइएको छ । उनले विभागमार्फत टेन्डरबाट ल्याइएका सामानमा कालोबजारी नगरेको बताए ।

 

मेडी कन्सर्नका शम्भु कार्कीले अझै स्वास्थ्यजन्य सामग्री आई नपुगेको बताए । उनले भने, ‘केही दिनमा ल्याउँछौं । अझै आइपुगेको छैन ।’ उनले विभागसँग गरिएको खरिद सम्झौता दुरुपयोग नगरेको बताएका छन् ।

 

यस्तै, बजारमा स्वास्थ्य सामग्री बढी मूल्यमा बिक्री भइरहेको पाइएको छ । थर्मल गन प्रतिपिस ४ हजार ९० रुपैयाँमा खरिद गरिए पनि १० हजार ५ सय, १ हजार ९ सय रुपैयाँमा खरिद गरिएको पीपीई ३ हजार ५ सय रुपैयाँमा बिक्री भएको पाइएको छ । २ सय ७० रुपैयाँमा खरिद गरिएको एन ९५ मास्क ३ सय ८० रुपैयाँमा बिक्री गरिन्छ ।

 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा आशंका गरिएको अनियमितताबारे संसदीय समितिले छानबिन थालेको छ । पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात दिनभित्र कागजात उपलब्ध गराउन भनिएको छ ।

 

यसैविच, संसदको सार्वजनिक लेखा समितिले आइतबार स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री खरिदसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो । सरकारले नियमति टेण्डर आह्वान गरेर ओम्नी कम्पनीसँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो ।

 

कम्पनीले पहिलो लटको सामान नेपाल वायुसेवा निगमनको विमानबाट काठमाडौँ झारेसँगै खरिदमा व्यापक अनियमितता भएको विषय सार्जजनिक भएको थियो ।

 

सामान्य बजार भाउभन्दा दशौं गुणा बढी मूल्य पर्ने गरी स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले आम्नीसँग सामाग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

 

अनियमितता भएको सार्वजनिक भएपछि सरकारले ओम्नीसँगको सम्झौता चैत १९ गते रद्द गरेर नेपाली सेनामाफर्त स्वास्थ्य समाग्री खरिदको सम्झौता गरेको थियो ।राजधानी दैनिकमा खबर छ।