प्रधानमन्त्री ओली राजीनामा दिन तयार,कोरोनापछि गौतम प्रधानमन्त्री, नेपाल अध्यक्ष

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि सारेका छन् । त्यस्तै वरिष्ठ नेता माधव नेपाललाई पनि अध्यक्ष बनाएर सामूहिक नेतृत्वमा पार्टी सञ्चालन गर्ने उनको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले नयाँ प्रस्ताव ल्याएपछि नेकपा विवाद नयाँ मोडमा प्रवेश गरेको छ । नयाँ प्रस्तावबारे दुई दिन छलफल गरेर शनिबार बैठक बस्ने निर्णय भएको छ ।

 

‘जतिसुकै वादविवाद होस्, घेराबन्दी होस्, म तत्काल त राजीनमा दिन्नँ । हामी कोरोनाविरुद्ध लडिरहेका छौँ । यस्तो वेला सरकार छाडेर हिँड्दा जग हँसाउने कुरा मात्रै हुन्छ,’ सचिवालयका एक सदस्यका अनुसार बुधबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कोरोनापछि मैले पनि छाडौँला, विकल्पमा वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव छ ।

 

वामदेवलाई एउटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरेर अघि बढ्न सकिने उनको प्रस्ताव थियो । त्यस्तै ओलीले वरिष्ठ नेता नेपालको वरीयता पनि अपुग भएको भन्दै तीनजना पार्टी अध्यक्ष बनाएर नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव अगाडि सारेका छन् ।नयाँ पत्रिका दैनिकमा खबर छ।