सम्झनाका हत्या आरोपित राजेन्द्र बोहरा अस्पतालबाटै भागे

काठमाडौं,मंसिर १९।बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार राति भागेका हुन् ।

 

बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति १० बजेतिर फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी जनक पाण्डेले बताए । प्रहरीका अनुसार उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् ।

 

कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको एसपी पाण्डेले बताए ।

 

बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनले बलात्कारपछि बालिकालाई त्रिशूल, घन र ढुंगाले हानेको भनी प्रहरीमा बयान दिएका छन् ।

 

बोहराको जन्ममिति विभिन्न ठाउँमा फरक–फरक देखिएका छन् । वडा कार्यालय र बोहरा पढ्ने विद्यालयमा उनको जन्ममिति फरक छ । राजेन्द्रका आमाबुबाले दुवै दस्ताबेजसँग नमिल्ने फरक जन्ममिति बताइरहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयले विद्यालयको रेकर्डमा रहेको जन्ममितिलाई आधार बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उनी कक्षा ८ मा अध्ययनरत मस्टा आधारभूत विद्यालयको अभिलेखमा जन्ममिति २०६१ वैशाख २० गते उल्लेख छ । तर, मस्टा गाउँपालिका–२ कार्यालयको अभिलेखमा २०६१ मंसिर १२ गते भनेर जन्म दर्ता छ । २०६७ असार २३ मा राजेन्द्रकी बहिनीको पनि एकै दिन वडा कार्यालयमा जन्म दर्ता गरिएको छ ।

 

अनौठो के भने एकै दिन राखिएको उक्त अभिलेखमा उनकै सहोदर बहिनी अञ्जना बोहराको जन्ममिति २०६१ मंसिर ३० गते उल्लेख छ । स्थानीय भने अञ्जना राजेन्द्रभन्दा तीन वर्ष कान्छी भएको बताउँछन् ।

 

वर्ष दिनको फरक हुनु ठीकै हो । जुम्ल्याहा भए एकै दिन जन्ममिति हुनुपर्ने, यो हुनै नसक्ने खालको रेकर्ड भेटियो,’ मस्टा–२ का वडाध्यक्ष शेरबहादुर खड्काले भने, ‘लेख्नेले पनि विचार गर्नुपर्ने हो । यो विषय गाउँमा बुझ्दा सबै थाहा हुन्छ ।

 

अदालतलाई आवश्यक परे वास्तविक जन्ममिति पत्ता लगाउन वडाले सहयोग गर्ने उनले बताए । यता राजेन्द्रका बाबु वीरबहादुर बोहराले आफ्नो छोराको उमेर १४ वर्ष भएको दाबी गरे । उनले राजेन्द्र २०६३ असोजमा जन्मिएको बताए । गते र बार मलाई थाहा भएन । जन्मिएको ०६३ सालको असोज महिनामा हो,उनले भने ।

 

जिल्ला प्रहरी कार्यालयका डीएसपी रूपक खड्काले बोहरा दाजु र बहिनीको वडा कार्यालयमा भएको जन्मदर्ताका बारेमा त्यसबेला जानकारी नआएको र राजेन्द्रको मात्रै जन्ममिति हेर्दा वडामा भन्दा विद्यालयको रेकर्डमा बढी देखिएकाले त्यही आधारमा अनुसन्धान गरिएको बताए ।

 

त्यो बेला हामीले राजेन्द्रको मात्रै जन्ममिति हेर्‍यौं । बहिनीको विषय अनुसन्धानमै आएन,उनले भने, ‘उसले गरेको अपराध गम्भीर प्रकृतिको भएकाले बढी देखिएको जन्ममितिलाई आधार मानेर मुद्दा चलाएका हौं ।

 

प्रहरीले अनुसन्धानको काम पूरा गरिसकेकाले यस विषयमा केही गर्न नमिल्ने भए पनि पीडित पक्षले अदालतमा प्रमाणसहित निवेदन दिए आरोपितको जन्ममितिबारे पुनः छानबिन हुन सक्ने उनले बताए ।