खुमलटार भेलाको निर्णय :अध्यादेश फिर्ता लिन बहुमत सचिवालय सदस्यको आग्रह

काठमाडौं,मंसिर ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेका छन्।

 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बेलुका बसेको बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम गम्भीर भएको निष्कर्ष निकाल्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गर्नुभएको हो ।

 

भेलाले प्रधानमन्त्री ओलीको कदमविरुद्ध स्थायी कमिटी बैठकमा कडा प्रतिवाद गर्नेसमेत निर्णय गरेको छ । भेलामा सहभागी सचिवालय सदस्य झलनाथ खनालले पार्टीलाई जानकारी नै नदिएर जारी गरिएको अध्यादेशलाई आफूहरुले गम्भीर रुपमा लिएको बताउनुभयो ।

 

बुधबार बस्ने स्थायी कमिटी बैठकबाट अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आवश्यक निर्णय गरिने पनि जानकारी दिनुभयो ।

 

‘पार्टीलाई जानकारीनै नदिएर अध्यादेश ल्याउने विषय गम्भीर हो । यसलाई हामीले गम्भीर रुपमा लिएका छौं,खनालले भन्नुभयो, ‘बुधबार बस्ने स्थायी कमिटीले नै यसका बारेमा आवश्यक निर्णय गर्छ ।’

 

नेकपाको स्थायी कमिटी बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि मंसिर १८ गते बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै पुस १ गते बस्ने गरि स्थगित भएको थियो । उक्त बैठकमा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली पनि सहभागी हुनुहुन्थ्यो ।

 

 मंगलबार खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठका बीचमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि चाल्नुपर्ने रणनीतिका बारेमा छलफल भएको बताइएको छ ।