भारतबाट स्वदेश फर्किएका नेपाली आफ्नै भूमिमा ठगिन्छन्

काठमाडौं,पुस ३। भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन्। भारतबाट फर्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन्।

 

यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा यहाँका सीमा नाकामा खटिने गरेका दलालहरुले आफूखुशी पैसा लिने गरेका कारण यात्रुलाई निकै पीडा तथा सास्ती हुँदै आएको छ। दलालहरुले आफूखुशी यात्रुबाट चर्को भाडा लिइरहेको जानकारी पाउँदासमेत यहाँको प्रहरी प्रशासन मौन बसेको स्थानीयवासीको गुनासो छ।

 

सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन्। सुदूरपश्चिम प्रदेशका दुई ठूला सीमा नाका कञ्चनपुरको गड्डा चौकी र कैलालीको त्रिनगरमा खुलेआमरुपमा दलालहरुले यात्रुबाट चर्को भाडा लिने गरेको देख्न सकिन्छ।

 

दलालले यात्रुबाट चर्को भाडा असुले पनि त्यहाँ सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी भने मुकदर्शक बनेका हुन्छन्। कहिले गाडी नपाउँदा तथा कुनै समय प्रचलित दररेटभन्दा चर्को भाडा लिँदा उनीहरु वर्षेनी ठगिँदै आएको गुनासो सुनाउने गरेका स्थानीय नागरिकको भनाइ छ। आफूहरु पटकपटक गाडी व्यवसायीबाट ठगिएको गुनासो गर्दै आए पनि कसैले पनि त्यसको सुनुवाइ नगरेको भारतबाट रोजगारी गरी आएका यात्रुहरुको गुनासो छ।

 

भारतबाट नेपाल फर्किने अधिकांश यहाँका नागरिकहरु भारतको गौरी फाण्टाबाट कैलालीको त्रिनगर भन्सार पुर्‍याएबापत दलाललाई रकम दिँदै आएका छन्। आफू त्रिनगरमा रहेका गाडी व्यवसायीबाट ठगिने गरेको मुम्बैबाट अछाम जान डोटीको दिपायल पुग्नुभएका नब टमाटाले गुनासो गरे। उनले भने, “गौरीफाण्टाबाट त्रिनगर पुर्‍याएबापत दलालले भारतीय ५०० लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा २ हजार ५०० तिर्नु पर्‍यो।

 

उनीजस्तै भारतबाट रोजगारी गरी घर आउने सयौँ सुदूरपश्चिमेली नागरिक हिजो आज दिनहुँ गौरीफाण्टा नाकामा गाडी व्यवसायीबाट ठगिँदै आएका छन्। भारतबाट आएका नागरिक राख्ने गौरीफाण्टास्थित होल्डिङ सेन्टरमा प्रहरीहरु खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडी व्यवसायी तथा उनीहरुले खटाएका एजेन्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका–२ खुल्लेकका परुवा भुलले बताए।

 

उनले भने, “गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, तोकिएकोभन्दा बढी पैसा लिएकोबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन उल्टै हप्काएर पठाए।” भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाय नभएका कारण भारतबाट नेपाल आउने यात्रुहरुलाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका नागरिकहरु बताउँछन्।

 

उता सुदूरपश्चिम बस व्यवसायी समिति कैलालीले धनगढीदेखि दिपायलसम्म ५५०, अछामको साँफे बगरसम्म ७५५ तथा मङ्गलसेनसम्म ९२५ भाडादर पहिलेदेखि कायम गरेको छ। तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुशी धनगढीदेखि दिपायलसम्म १ हजार, अछामको साँफेबगरसम्म १ हजार ५०० तथा मङ्गलसेनसम्म २ हजार ५०० सम्म भाडा लिने गरेको यात्रुहरुको भनाइ छ।

 

थोरै मात्रामा त्यहाँ गाडी राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडी चढ्न नपाइने नियम भएका कारण त्रिनगरमा गाडी चालकको मनोमानी बढेको भारतबाट रोजगारी गरी फर्किएका डोटीको बोगटान फुड्सिल गाउँपालिका–३ का स्थानीयवासी लक्ष्मण साउदले बताए।

 

उनले भने, “थोरै मात्रै गाडी राखेको हुँदा रहेछन्, हामीलाई अरू ठाउँबाट चढ्न दिँदैन अनि चालकले मनपरी भाडा लिन थालेका छन्।” सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले यात्रुहरुलाई ठगिएका बारेमा तत्काल जानकारी लिएर छानबिन शुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताए। यात्रु ठगिँदै आएको विषयमा जानकारी लिएर छानबिन शुरु गर्न निर्देशन दिएका छौँ, तोकिएकोभन्दा बढी भाडा लिएको देखिए कानूनबमोजिम कारबाही हुनेछ।”

 

यसैगरी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम राणाले यात्रुबाट बढी तथा मनोमानी ढङ्गबाट रकम लिएको विषयमा छानबिन शुरु गरिएको बताए। उनले भने,बढी भाडा लिएको र यात्रु ठगिएको विषयमा हामीलाई जानकारी आउने बित्तिकै आजबाट हामीले छानबिन तथा अनुगमन शुरु गरेका छौँ, गलत गर्ने जो कोही होस् कारबाही हुन्छ।”

 

त्रिनगरमा भारतबाट आएका नागरिक राख्नका लागि निर्माण गरिएको होल्डिङ सेन्टरमा कोरोना जोखिमबाट जोगिन तथा जाँच गर्न कुनै पनि उपकरणसमेत नभएको सुदूरपश्चिम बस व्यवसायी समितिका बस चालक धिरेन्द्र साउदले बताए।

 

उनले भने, “होल्डिङ सेन्टरमा सामान्य जरो नाप्ने थर्मल गन पनि छैन, अरू कुरो त छाडौँ यात्रुलाई खानलाई शुद्ध पानीसमेत छैन, दलालको मनपरी भएको छ, कोरोनाको बाहनामा सबैको कमाउने धन्दा भएको छ त्यहाँ।”

 

यति मात्र नभई त्रिनगरबाट यातायात व्यवसायीले भारतबाट रोजगारी गरी फर्किएका नाागरिकलाई गाडी चढ्दा टिकटसमेत नदिने गरेको पाइएको छ। “सिधै गाडीमा राख्छन्, टिकट माग्दा बाटोमा मिलाउला भन्छन्, दिँदैनन् भारतको पञ्जाव शहरबाट रोजगारी गरी घर फर्किएका डोटीको जोरायल गाउँपालिका–५ का स्थानीयवासी शेरबहादुर विकले भने, “दलालको मनोमानी हिसाबले टिकट काटिन्छ, टिकट मागे गाडीको सिट नै पाइँदैन, परदेशमा त लुटिन्थ्यौँ नै आफ्नै देशमा पनि लुटिन थाल्यौँ।”

 

त्रिनगर क्षेत्रबाट यहाँका सातवटा पहाडी जिल्लाका लागि भारतबाट यात्रु लिएर आएका गाडीसमेत यहाँका ट्राफिक प्रहरीले चेकजाँच नगर्ने तथा सोधपुछ पनि नगर्ने गरेका कारण बस व्यवसायीहरुको मनोबल झन् बढेको स्थानीयवासी बताउँछन्।

 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा एसपी बामदेव गौतमले यात्रुलाई टिकट नदिने तथा बढी भाडा लिने व्यवसायीलाई कारबाही गरने बताए। सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सबै यात्रुहरुको टिकट जाँच गर्न मैले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिएको छु, बढी भाडा लिइएको तथा टिकट नदिएको पाइए तत्काल कारबाही गर्छौं।

 

विश्वव्यापी कोरोना महामारीले आक्रान्त भइरहेका बेलामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको फाइदा उठाउँदै गाडी व्यवसायीले मनपरी भाडा लिने गरेको तथा प्रहरी प्रशासन मौन बसेको भन्दै यहाँका नागरिकहरु आक्रोशित बनेका छन्।

 

यति मात्र नभई सुदूरपश्चिम प्रदेशमा दशैँतिहारको समयमा पनि भारतबाट रोजगारी गरेर फर्किने नागरिकहरु सीमा नाका तथा यातायात व्यवसायीबाट लुटिँदै आएका छन्।

 

लुटिएको खबर पाएपछि यहाँको प्रहरी प्रशासनले केही समय सक्रियता देखाए पनि पछि फेरि मौन बस्ने गरेका कारण लुटिने क्रम जारी नै रहेको कैलालीका पुराना पत्रकार तथा युगअस्त्र दैनिकका प्रधान सम्पादक वीरेन्द्रबहादुर रावलले बताए। उनले भने, “सिमानाकामा यात्रु लुटिने र गाडी व्यवसायीबाट ठगिने क्रम पहिलेदेखि नै चल्दै आएको छ, हामीले समाचार लेखेपछि केही दिन प्रहरी प्रशासन सक्रिय देखिन्छन् पछि फेरि पुरानै हालतमा आउने हुँदा समस्या जस्ताको त्यस्तै रहँदै आएको छ।

 

कोरोना कहर चलिरहेको भए पनि अहिले पनि यहाँका दुई ठूला सीमा नाका कैलालीको त्रिनगर तथा कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिकजसो सयौँ नागरिक भारतबाट रोजगारी गरी घर फर्किन थालेको देख्न पाइन्छ।

 

सीमा नाकामा लुटिएका नागरिकलाई यहाँका गाउँघरमा सञ्चालन भएका साना महिन्द्रा जीपहरुले पनि मनपरी भाडा लिने गरेको आरोप लाग्दै आएको छ। कच्ची सडक भएका कारण जीप चालकले भने जति पैसा नदिए नजाने भन्ने गरेपछि उनीहरु बाध्य भएर बढी रकम तिर्दै आएको डोटीको केआइसिंह गाउँपालिका–७ का स्थानीयवासी जगतबहादुर बलायरले बताए।

 

उनले भने, “गाउँका सबै सडक कच्ची छन्, ठूला गाडी जाँदैनन्, जीप चालकले भनेअनुसारको पैसा नदिँदा जान मान्दैन अनि बाध्य भएर भारतबाट आएका गाउँका नागरिकले बढी पैसा तिर्नुपर्छ, यसको अनुगमन कसले गर्ने।

 

शहरमा मात्रै नभएर यहाँका गाउँघरमा समेत चालकले मनपरी भाडा लिने गरेको आरोप लाग्दै आएको छ। गाडी चालकले कुन रुटमा कति भाडा लिने गरेको छ त्यसको नियमित अनुगमन नहुने भएकाले पनि यहाँका गाउँघरमा यात्रुहरु जीप चालकबाट महिनैपच्छिे ठगिँदै आउने गरेका छन्। रासस,