पार्टी परित्याग गरेपछि बेदुराम भुसालको सांसद पद नरहने

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसालले पार्टी परित्याग गरेपछि सांसद पनि नरहने दाबी गरेका छन्।

 

 

उनले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा पत्र पठाएपछि प्रमु सचेतक भट्टराईले दल छाडेपछि उनको सांसद पनि स्वतः जाने बताएका हुन्

 

 

 

‘राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नू, गराउनू, दलको सांसदको हैसियतमा काटिँदै आएको लेबी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन्,’ प्रमुख सचेतक भट्टराईले भनेका छन्, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन्। पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन्, तर सांसद भइरहन सम्भव हुँदैन।’

 

 

भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र सांसदको मान्यता दिन निवेदन दिएका छन्।

 

 

‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरू दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ,’ संसद् सचिवालयलाई लेखेको पत्रमा भुसालले भनेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रूपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रूपमा नै रहन चाहन्छु।’