नेपाली सेनाका नक्कली ‘क्याप्टेन’ परिचयपत्रसहित पक्राउ

काठमाडौं। नेपाली सेनाको क्याप्टेन हुँ भन्दै स्थानीयमा धाक लगाएर हिँड्ने एक युवक पक्राउ परेका छन् ।

 

 

जाजरकोट नलगाड नगरपालिका-१३, खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको साथबाट सेनाका नक्कली कागजात समेत बरामद गरिएको छ ।

 

 

 

सूचना पाएपछि इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गरेको हो ।

 

 

सरकारी छाप र दस्तखतको दुरुपयोग गरी सह-सेनानी पदको नक्कली परिचय पत्र बनाई हिँड्ने र धाक लाउने गरेको भन्ने गोप्य सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

 

 

पक्राउ परेको गिरीको साथबाट नेपाली सेनाको सह-सेनानी दर्जासहितको फोटो भएको नक्कली परिचय पत्र बरामद गरिएको छ ।

 

 

प्रहरीका अनुसार पक्राउपछि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भैरहेको छ ।