सरकार यात्रु ठग्ने ट्याक्सी चालकमाथि मुद्दा चलाउँदै

काठमाडौं । के तपाईं ट्याक्सी चढ्दा ठगिनु भएको छ ? तपाईंलाई त्यसरी ठग्ने ट्याक्सी चालकलाई सरकारले अब नगद जरिबाना मात्रै नभई मुद्दा नै चलाउन थालेको छ ।

 

 

 

गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ ।

 

 

कार्यालयले चालू आर्थिक वर्षमा ट्याक्सीको मिटर बिगारेर यात्रुलाई बोक्ने एक चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

 

 

ट्राफिक प्रहरीको यही भदौ ७ गतेको अनुगमनका क्रममा मिटरलाई शून्य बनाएर चलाउने बा १ ज ६९६० नम्बरको ट्याक्सीविरुद्ध मुद्दा दायर गरिएको हो ।

 

 

 

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनी मिटर बिगारेर चलाउने तथा सिल छिनाएर चलाउने ट्याक्सी चालकविरुद्ध कार्यालयले अदालतमा मुद्दा दायर गरेको बताउँछन् ।

 

 

 

‘ट्याक्सीको मिटर बिगारेर चलाउने अधिकांश चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिबाना मागदाबी गरी अदालतमा मुद्दा दर्ता गराएका छौं’ उनी भन्छन् ।

 

 

 

कार्यालयले गत आर्थिक वर्षमा बिग्रेको मिटर चलाउने दुई तथा पाँच वर्षसम्म नवीकरण नगरी ट्याक्सी चलाउने एक ट्याक्सीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो ।

 

 

 

त्यसमा बिग्रेको मिटर चलाउने बा १ ज ८८८२ र बा १ ज १६६७ नं को ट्याक्सी चालकविरुद्ध तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिबाना माग दाबी गरिएको सूचना अधिकारी पुडासैनी बताउँछन् ।

 

 

यस्तै पाँच वर्षसम्म ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने बा २ ज १५०३ ट्याक्सीका चालकविरुद्ध एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ ।

 

 

कार्यालयले आर्थिक वर्ष २०७५र७६ देखि चालू आर्थिक वर्षको भदौसम्म १३ ट्याक्सीलाई कारबाहीका लागि अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

 

सरकारले स्ट्यान्डर नाप र तौल ऐन २०२५ को पाँचौं संशोधन अगाडि बढाएको छ । प्रमाणीकरण हुन बाँकी रहेको उक्त ऐनमा ठगी गर्ने ट्याक्सी चालकविरुद्ध हाल गरिँदै आएको सजायसमेत बढाइएको छ ।

 

 

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा मात्र झण्डै १० हजारको हाराहारीमा ट्याक्सी सञ्चालनमा रहेका छन् ।

 

 

 

पछिल्लो समय काठमाडौँ उपत्यकामा मिटरमा जान नमान्ने, बढी भाडा लिने तथा मिटर बिगार्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ गरेको छ ।

 

 

 

 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बढी भाडा लिने तथा मिटरमा जान नमान्ने ट्याक्सी चालकविरुद्ध ट्राफिक प्रहरी कडा बनेको बताउँछन् ।

 

 

 

 

उनका अनुसार ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७७र७८ मा पाँच हजार सात सय ३६, आव २०७८र७९ मा १० हजार दुई सय ९५ र चालु आवको भदौ १८ गतेसम्म एक हजार नौ सय ४५ ट्याक्सी चालकलाई बढी भाडा लिने तथा मिटरमा जान नमान्ने कसुरमा कारबाही गरिएको छ ।

 

 

 

 

विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि पहिले चढ्ने भनेको ट्याक्सी हो, त्यस ट्याक्सी चालकले कस्तो व्यवहार गर्छ त्यसले हाम्रो सिङ्गो देशको अवस्था थाहा हुने भएकाले ट्याक्सी चालक संयमित हुनुपर्दछ ।रासस