चितवन–२ मा रवि लामिछाने भारी मतले विजयी

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन्।

पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको अग्रता लिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी नै रहे पनि रविले फराकिलो जित हासिल गरेका हुन्।

हालसम्म ७९ हजार २५९ मत गणना भइसकेको छ। रवि लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन्।

उनले १४ हजार ४०६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५६ मत प्राप्त गरेका छन्।