बञ्चरेडाँडाका स्थानीय सम्झौता कार्यान्वयन नभएको भन्दै फेरि आक्रोशित

काठमाडौं । उपत्यकाको ल्याण्डफिल साइट रहेको धादिङको बन्चरेडाँडाका स्थानीयले आफूहरुसँगको सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रभावित क्षेत्र धादिङ धुनिबेँसी नगरपालिकाका अनुसार अहिले पनि प्रहरीले खटाएर फोहोर विसर्जनको काम भइरहेकाले ल्यान्डफिल साइट वरिपरि कोही स्थानीय जाने बित्तिकै प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग स्थानीयले पटक(पटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन नसकेको गुनासो उनीहरुले गरेका छन् ।

गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो ।

काठमाडौंका सडकभरी फोहोर थुप्रिन थालेपछि मात्रै महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।