राष्ट्रिय वाणिज्य बैंकका थप ११ वटा शाखा विस्तार

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा एघार वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहा जिल्ला स्थित शाखा कार्यालय गोलबजारदेखि बैतडीको शाखा कार्यालय पाटनमा बैंकले शाखा विस्तार गरेको हो।

बैंकले दार्चुलाको गोकुलेश्वर, मोरङ्गको बिराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को तथा मंगलबजार, सुर्खेतको छिन्चु, कालिकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङजाको वालिङ्गमा नयाँ शाखा विस्तार गरेको हो। यससंगै बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले कर्णाली प्रदेशमा मात्र ३ वटा शाखा कार्यालय सहित शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा आधुनिक बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा छन्।