ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ

काठमाडौं। बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सकुलनन्द महर्जन र सञ्जय महर्जन पक्राउ परेका हुन्।

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको आचार्यले बताए।

योसँगै यस प्रकरणमा पक्राउ परेका २१ जना सिआइबीको हिरासतमा छन्। सीआइबी स्रोतका अनुसार यस प्रकरणमा केही पूर्व सचिव, बहालवाला सचिव र पूर्वमन्त्री समेत संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न ४ सय ६ विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै मुलुकको उच्च पदमा रहेका व्यक्ति पनि समातिन थालेका हुन्।