सरकारले शुल्क बढाउन खोजेको भन्दै थापाथली क्याम्पसका विद्यार्थीले गरे विरोध प्रदर्शन

काठमाडौं। थापाथली क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीहरूले  प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको पहलमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन्।

सानो क्षेत्रमा थापाथली क्याम्पस सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग उनीहरूले राखेका छन्। संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन्।

सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ। त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको छ। त्यसको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले इन्जिनियरिङ क्षेत्रमा लगानी बृृद्धि गर्नुका साटो विद्यार्थीबाटै असुल गर्न खोजेको आरोप लगाए।

सरकारले सहुलियतमा विद्यार्थीहरूलाई इन्जिनियरिङ पढाउनुपर्नेमा विद्यार्थीबाटै महंगो शुल्क लिएर पढाउन खोजेकोमा हाम्रो घाेर आपत्ति रहेकाे सभापति शाहीले भने।

थापाथली क्याम्पसको स्थानान्तरण गर्नुपर्नेमा सरकार बेवास्था गर्दै बसेकाले खबरदारी गर्नुपरेको उनको भनाई छ। २०७२ सालमा गएको भुम्कपछि थापाथली क्याम्पस स्थानान्तरण गर्ने कुरा भएको थियो।

त्यसका लागि कीर्तिपुरस्थित त्रिवि परिसरमा जग्गा समेत उपलब्ध गराइएको छ। तर, लामो समय हुँदा सम्म सरकारले स्थानान्तरणको लागि कुनै पहल गर्न सकेको छैन्। जति सक्दो थापाथली क्याम्पस स्थानान्तरण गर्नुपर्ने सभापति शाहीले बताए।