नेविसंघको असन्तुष्ट पक्षले सुरू गर्यो अनशन

काठमाडौं। नेविसंघ केन्द्रीय समिति विधानसम्मत हुनुपर्ने माग गर्दै असन्तुष्ट पक्षले नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन सुरू गरेका छन्।

नेविसंघ केन्द्रीय समिति विधानअनुसार समावेशी हुनुपर्ने माग राख्दै आज (बुधबार) अपराह्नदेखि रिले अनशन सुरू गरिएको नेता विनोद शाही ठकुरीले जानकारी दिए।

उनका अनुसार नेविसंघका गणेशमान शाह र रामजी बस्नेत अनशनमा बसेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघ तदर्थ समितिमा सात सय १० जनालाई मनोनीत गरेका थिए।

नेताहरूका भागबन्डाका आधारमा तदर्थ समिति बनाइएको र उक्त समिति विधानसम्मत नभएको दाबी असन्तुष्ट पक्षको छ।