कथाकार वसन्त पराजुलीको स्वप्निल आँखा सार्वजनिक

चितवन। नेल्टा (NELTA) चितवनको आयोजनामा सम्पूर्ण किताबको संयोजनमा युवा स्रष्टा पत्रकार वसन्त पराजुलीको स्वप्निल आँखा (Dreamy Eyes) कथा संग्रहको बुक सार्वजनिकिकरण तथा बुक रिभ्यु अन्तर्क्रिया कार्यक्रम गैंडाकोटको नारायणी रिसोर्टमा सम्पन्न भएको छ।

कार्यक्रममा नेल्टा चितवनको अध्यक्ष बटुकलाल तामाङको सभापतित्वमा र कार्यक्रममा सहजीकरण नेल्टाका सह सचिव मिनराज बस्ताकोटीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कवि डाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्री एवम् विशिष्ट अतिथि भ्यू  चितवनका डा. केशव चालिसे रहेका थिए।

कार्यक्रममा अतिथिहरु भूँडीपुराण प्रकाशनका केशव पराजुली, सम्पादक हरि प्रसाद गौतम, रामचन्द्र कट्टेल, चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, पत्रकार दिपक आचार्य लगायत रहेका थिए।

कार्यक्रमको ब्यानर पढेर प्रमुख अतिथि एल बि क्षेत्रीले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेल्टा चितवनको उपाध्यक्ष ईश्वरी प्रसाद सापकोटाले कथाकारले कथामा प्रस्तुत गरेका विषयवस्तुको चिरफार गर्न उपस्थिति सबै सबैमा हार्दिक आभार प्रकट गरे।

चार समुहमा विभाजन गरी सहभागीबाट बुक रिभ्यु अन्तर्क्रिया कार्यक्रममा अन्जली भूसाल, मनोज विक्रम विष्ट, रविन क्षेत्री लगायतका शिक्षकहरूले  स्वप्निल आँखा (Dreamy Eyes) कथाको बुक रिभ्यु गर्दै कथाकार वसन्त पराजुलीको कथाको विषयवस्तु समकालीन समाजको वास्तविकता पस्केको बताए।

कार्यक्रममा बोल्दै भूँडीपूराण प्रकाशनका निर्देशक केशव पराजुलीले यो पुस्तक मोम्चो र कुमाता कथा संग्रहका उत्कृष्ट कथाहरू नमुना रहेको बताए।

कार्यक्रममा बोल्दै सम्पादक हरि प्रसाद गौतमले कथा स्वप्निल आँखा (Dreamy Eyes) (स्वप्निल आँखा) मा प्रेम र जीवनको वास्तविकता रहेको बताउदैं निकै मेहनतसाथ अनुवाद गरेको बताए।

उक्त बुक रिभ्यु कार्यक्रमको सञ्चालन शिक्षा तालिम केन्द्रका चितवन शाखाका प्रमुख रामचन्द्र कट्टेलले गरे। कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एल बि क्षेत्रीले कथाकार वसन्त पराजुलीको यो रचना उत्कृष्ट कथाहरू रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि सभाध्यक्ष, सञ्चालकलाई कथाकार वसन्त पराजुलीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमको अन्त्यमा गजलकार धनराज गिरी, प्रेम कडेल ‘उदय’ , अञ्जली भुसालले गजल, लघु कथाकार खेम पहाडी लगायतले आफ्ना रचना सभा हलमा प्रस्तुत गरेका थिए।

कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटा, डा एक नारायण पौडेल, भूपिन खड्का लगायत चितवनका विभिन्न साहित्यीक संस्थामा आबद्ध साहित्य अनुरागीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।