यू-१९ एसिया कप क्रिकेट :नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं।यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको हो।

 नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे। उनले ७० बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन जोडे। कुनै समय ५ विकेटको क्षतिमा ४६ रन मात्र जोडेको नेपालको रन उकास्न नेपालले धैर्यपूर्वक ब्याटिङ गरेका थिए।

दिपेश कँडेलले बनाएको ३१ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। दिपेश र उत्तमबीच छैटौं विकेटका लागि ६८ रनको साझेदारी भएको थियो। कँडेलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।

कँडेल आउट भएको दुई ओभरपछि विशाल विक्रम केसी आउट हुँदा १ रन मात्र जोड्न सके। यस्तै विकेटकिपर विपिन रावल पनि ३८ ओभरमा शून्यमा मोहमद जीशानबाट बोल्ड भए।

 त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भएका थिए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुवाती ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।

त्यसअघि कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट भए। आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे भने तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।

अन्तिम विकेटको रुपमा आकाश त्रिपाठी ५ रनमा बवल्ड हुँदा सुवास भण्डारी ८ रनमा नटआउट रहे।

बलिङमा पाकिस्तानका मोहमद जीशानले ६ विकेट लिए। उनले ९.२ ओभरमा १९ रन जोड्दा १ मेडन राखे।