जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

काठमाडौं । कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ। नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ।

मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक कम्पनी एनटीटीएस टेक्नोकम सिस्टम यसडीएन बिएचडी र पिन्टारमास यसडीएन बिएचडीमा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिक काम गर्दै आएकोमा कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए। तर, कम्पनीले उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो।

तलव भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीले मलेसियास्थित नेपाली दूतावासलाई समन्वयका लागि अनुरोध गरेको थियो । सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो ।

पत्रका आधारमा विभागले उनीहरूले काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको सूचनामा उल्लेख छ । उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न बिभागले अनुरोध गरेको छ ।

विभागले श्रमिकहरुलाई सम्पर्क गराउन आवश्यक समन्यव गर्न नेपाल वैदेशिक रोजगार ब्यवसायी संघलाई पनि अनुरोध गरेको छ ।राजधानी दैनिकबाट,