हुस्सुका कारण हुने दुर्घटना कम गर्न रौतहट ट्राफिकको अभियान सञ्चालन

फाइल तस्वीर

रौतहट। पछिल्लो दुई सातादेखि रौतहट जिल्ला लगायत तराई–मधेसमा शीतलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ। बाक्लो हुस्सु र चिसोको कारण सवारी दुर्घटनाको जोखिम उच्च भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चालकहरुलाई सचेतना अभियान सञ्चालन गरेको छ।

बाक्लो हुस्सुका कारण राजमार्ग र भित्री सडकहरुमा गुड्ने साना ठुला सवारी साधनहरुले नजिकैको दृश्य पनि ठम्याउन नसक्दा सवारीहरु एक आपसमा ठोक्किने,सडकबाट तल झरेर पल्टने,पैदल यात्रुलाईलाई ठक्कर दिने लगायतका दुर्घटना जोखिम बढेकाले सचेतना अभियान चलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आर्चायले बताए।

अभियान अन्तरगत सवारी साधनहरुलाई रोकेर सवारी चालकहरुलाई तिब्र गतिमा सवारी नचलाउन, सवारीसाधनमा राखिएका इन्डिकेटर बत्तीहरुको प्रयोग गर्न,एकदमै सचेत भएर सवारी चलाउन लगायतका अनुरोधहरु गरेर पठाइएको उनले जानकारी दिए।

हामी दुर्घटनानै नहोस् भनेर अभियानमा लागि परेका छौं,सबै सरोकारवाला यसमा सचेत हुनुपर्छ उनले भने, ‘हुस्सुका कारण सवारी दुर्घटनाको जोखिम अरुबेला भन्दा उच्च हुन्छ । त्यसैले हामीले सचेतना अभियान चलाएका हौ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को रौतहटमा मंसिर महिना सम्म २ सय ५३ वटा सवारी दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने ४ सय २ जना घाइते भएका छन्।

त्यसैगरी सोही अवधिमा ८ हजार ७३६ सवारी साधनहरुलाई कारवाही गरि ७० लाख ४८ हजार ५ सय राजस्व संकलन गरिएको र ३१ हजार १४६ जनाको सहभागितामा ७ सय १८ वटा सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरी नायव निरिक्षक राजिव विश्वकर्माले जानकारी दिए।