विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। शुक्रवार डीआईजी चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनामा आफ्नै मातहतका कर्मचारीहरुलाई बचाउन नसकेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो।

डीआईजी चन्दले उक्त प्रकरणमा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई जोगाउन निकै पहल गरेका थिए। तर,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोग नगर्दा आफ्नै मातहतका कर्मचारी कारबाहीमा परेपछि डीआईजी चन्दले राजीनामा दिएको स्रोतले बतायो।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए। चन्द हालका आईजीपी वसन्त कुँवरकै ब्याचका अधिकृत हुन्। डीआईजी चन्दको सेवा अवधि २०८१ चैतसम्म रहेको थिए।