यस्तो रहनेछ आज दिनभरको मौसम
काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका भूभागहरुमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ ।
बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।
त्यस्तै गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
बिहीबार राति पनि कोशी र गण्डकी प्रदेशकै हिमाली र पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।
आगामी चौबी मस घन्टामा कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
