निःशुल्क उपचारको दुरुपयोग हुन नदिन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालको वार्डमा जलनपीडितहरुको उपचारबारे आइतवार जानकारी लिएका छन्।

मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित विरामीको निःशुल्क उपचार गर्ने निर्णय गरेलगत्तै बर्न अस्पतालले पनि निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ।

काठमाडौँ-२८ कमलपोखरीस्थित एउटा म:म. आउटलेट आगलागी हुँदा जलेर घाइते भएका विरामीको उपचारबारे जानकारी लिँदै मन्त्री पौडेलले विरामीहरुका गुनासा सुने।

मन्त्री पौडेलले अस्पतालका अधिकारीहरुसँग अन्तरक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिनगरी निश्चित गर्न आग्रह गरे।

‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था नहोस् भनेर हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ,’ मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला।

उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्या तथा विरामीका गुनासा दुवै सुने। उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए।

मन्त्री पौडेलले भने,जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ।

मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि मन्त्रालयले कीर्तिपुर नगरपालिकामार्फत २ करोड रुपैयाँ निकासा गरेको जानकारी दिए।

यसबाहेक वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका विरामीहरुको निःशुल्क उपचार भइरहेको छ। कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको जनाएका छन्।

गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चाैधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो।

करिब १८ करोड रुपैयाँ लागतको प्रतिबद्धता समूहले जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको जनाएकका छन्।