माओवादी जनयुद्धकै कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्।
नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनलाई स्मरण गर्दै फागुन १ गतेलाई ‘जनयुद्ध दिवश’को रुपमा मनाउँदै आएको छ। यसैक्रममा आज ३०औँ ‘जनयुद्ध दिवश’को सन्दर्भमा माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए ।
उनले जनयुद्धकै कारण आज मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको उल्लेख गरे ।
उनले भने, ‘हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौँ । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौँ । राज्यको पुनर्संरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो । यो जनयुद्धकै कारण सम्भव भएको हो ।
अध्यक्ष प्रचण्डले अगाडि भने, ‘हामीबाट कतिपय कमीहरू पनि भए तर, हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौँ । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौँ । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौँ ।
उनले सशस्त्र संघर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, सशस्त्र संघर्षको क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन्।
