पतञ्जलिमा भ्रष्टाचार होला भन्ने कल्पना पनि गरेको थिइन: अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलीको जग्गामा आफुले कुनै बदमासी नगरेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले पतञ्जलीको जग्गामा आफुले कुनै अनुचित कार्य नगरेको बताएका हुन्।

साथै स्वामी रामदेव र आचार्य बालकृष्ण जस्ता व्यक्तिहरु भएको ठाउँमा अनुचित कार्य होला भन्ने आफुले कल्पना पनि नगरेको उनको भनाई छ।

‘मैले कुनै किसिमको भ्रष्टाचार गरेको छैन, कसैसँग अनुचित लाभ लिएको छैन। पतञ्जलिजस्तो संस्थामा त्यस्तो भएको होला भन्ने मैले कल्पना पनि गर्ने कुरा भएन,उनले भनेका छन्।

जग्गा खरिद प्रकरणमा यताउता र अनियमितता भएको भए त्यो कर्मचारीबाट भएको हुनसक्ने उनको भनाई छ। नेपाली जनता स्वस्थ रहुन् भनेर त्यसबेला आफूले पतञ्जलिका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको उनको भनाइ छ।

साथै उनले एमाले अध्यक्ष केपी ओली सुरुदेखि नै आफूविरुद्ध लागेको बताएका छन्।‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो,अध्यक्ष नेपालले भनेका छन्, ‘मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो । पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो।