असार १५ गतेसम्म शिक्षा ऐनलाई संसद् बाट पारित गर्छौ: मन्त्री पन्त
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्नेगरी सरकार अघि बढिरहेको बताए।
सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री पन्तले आफूसँग भएको ९ बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने बताउँदै त्यसअघि भएका सम्झौताहरुका बारेमा पनि छलफलका लागि आफू तयार रहेको बताए।
शिक्षकहरुसँग भएको ९ बुँदे सम्झौताको दायित्व ८ अर्ब रुपैयाँ हुने र त्यसको दायित्व सरकारले व्यहोर्ने बताए। थप आर्थिक भार पर्ने माग धान्न नसकिने पनि स्पष्ट पारे। शिक्षकहरु फेरि सडकमा फर्किएर जान नपरोस् भन्नेमा सरकार गम्भीर रहेको बताए।
मन्त्री पन्तले मन्त्रालयमा उच्च शिक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार रहेको र त्यसलाई पनि सकेसम्म छिटो संसदमा लैजाने तयारी रहेको बताएकाछन्।
