वाणिज्य बैङ्कहरूले असार महिनाका लागि ब्याजदर घटाए

काठमाडौं। वाणिज्य बैङ्कहरूले असार महिनाका लागि ब्याजदरको सूचना प्रकाशित गरेका छन्। बैङ्कहरूको औसत ब्याजदर जेठ महिनाको तुलनामा केही घटाएका छन्।

जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ। २० मध्ये १५ बैङ्कहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैङ्कहरूले ब्याजदर घटाएसँगै औसत ब्याजदर पनि घट्न पुगेको हो। असार महिनाका लागि ब्याजदर घटाउने बैङ्कहरू कृषि विकास बैङ्क, कुमारी बैङ्क, एनएमबि बैङ्क, एभरेष्ट बैङ्क र एनआईसी एशिया बैङ्क रहेका छन्।

असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैङ्क र एनआईसी एशिया बैङ्कमा बढी छ । यी दुवै बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।

यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैङ्कहरू भने कृषि विकास बैङ्क र नेपाल बैङ्क रहेका छन्। यी दुई बैङ्कहरूको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।