दुई बुँदे सम्झौताको औचित्य बारे पार्टीभित्र समीक्षा हुनुपर्छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग भएको दुई बुँदे सम्झौताको औचित्यबारे पार्टीभित्र समीक्षा हुनुपर्ने बताएका छन्।

माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त सम्झौतापछि संसद् सुचारु भएको उल्लेख गरे।

श्रेष्ठले सम्झौताबारे विभिन्न प्रतिक्रिया आइरहेको र पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको बताए। उनले भने,अध्यक्ष कमरेडले समग्र परिस्थितिको मूल्याङ्कन गरेर यस्तो निष्कर्षमा पुग्नुभएको हुन सक्छ। तर, हामीले यो मुद्दालाई छोडेका छैनौँ र छोड्ने पनि छैनौँ । भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिनेछौँ।

उनले भ्रष्टाचारको यो स्तरको प्रकरणलाई पार्टीले गम्भीरतापूर्वक लिने र तात्कालिक कार्यनीतिका सम्बन्धमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने बताए। भ्रष्टाचारविरुद्धको लडाइँ हाम्रो प्राथमिकता हो, यसमा कुनै सम्झौता हुँदैन,श्रेष्ठले भने।

कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाउँदै पार्टीले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।