ब्लड डोनर्स सोसाइटी चितवनको रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान

चितवन। ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा भरतपुरको चितवन उद्योग संघको प्रर्दशनी हलमा गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा चितवनको सातैवटा स्थानीय पालिका र नवलपुरका विभिन्न स्थानका रक्तदाता सहभागी भएको ब्लड डोनर्स सोसाइटी चितवनका सचिव विपिन पाठकले बताए। अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा ठूलो संख्यामा नयाँ महिला रक्तदाता सहभागी भएका थिए। महोत्सवमा निशुल्क स्वास्थ्य शिबिर, रक्त समूह परिक्षण, प्रभातफेरी एवम् पुरस्कार तथा सम्मान वितरण गरिएको थियो।

रक्त सञ्चार केन्द्र भरतपुरले १५१६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत स्टोर गरेको रक्तसञ्चार केन्द्र चितवनका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर अस्पतालका प्रमुख सल्लाहकार डाक्टर भोजराज अधिकारी, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल , रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेल लगायतका अतिथिहरु उपस्थित थिए। कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहाल र समाजसेवी उहाँका श्रीमान अर्जुन पाठकले समेत रक्तदान गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ब्लड डोनर्स सोसाइटी रत्ननगरका अध्यक्ष रमेश नेपालले उपस्थित सबै सबैमा हार्दिक धन्यवाद दिए। कार्यक्रममा चिट्ठा कार्यक्रममा सोफा हब चितवनका प्रोपाइटर मोहन दनैले करिव पैचालिस हजार बराबरको सोफाको एक सेट उपलब्ध गराएका छन्। सोफा हब बिर्तामोड, पोखरा र नेपालगन्ज लगायतका नेपालका नौ वटा शहरहरुमा रहेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो ऐतिहासिक रक्तदान महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन। कार्यक्रममा मेयर रेनु दाहाललाई मायाको चिनो समेत प्रदान गरिएको थियो। कार्यक्रमको समापन ब्लड डोनर्स सोसाइटी चितवनका अध्यक्ष एकराज बुर्लाकोटीले उपस्थित सबै सबैमा हार्दिक धन्यवाद दिदै कार्यक्रमको सहजीकरण गर्ने पत्रकार, समाजसेवी, रक्तदाता सहभागी भएर कार्यक्रम सफल भएको बताउदैं समापन मन्तव्य राखेका थिए।

कार्यक्रममा नृत्य सहित सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको ब्लड डोनर्स सोसाइटी चितवन जिल्लाका वरिष्ठ उपाध्यक्ष हरि न्यौपानेले बताए। कार्यक्रम निकै प्रभावकारी र भव्यताका साथ सुसम्पन्न भएको थियो।