त्रिकोणात्मक टि-२० सिरिज: स्कटल्याण्डसँग नेपाल पराजित
काठमाडौं। स्कटल्याण्डमा भएको त्रिकोणात्मक टि-२० आई सिरिजको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
शुक्रबार राती भएको खेलमा नेपाल घरेलु टोलीसँग ३४ रनले पराजित भयो। १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे। दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे। कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए। आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए।
स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गर्यो ।
स्कटल्याण्डका लागि ओपनर जर्ज मन्सी ३९ बलमा ५ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ७८ रन बनाउदै आउट भए । स्कटल्याण्डका महत्वपुर्ण योगदान गरेका मन्सी कुशल भुर्तेलको बलमा कप्तान रोहित पौडेलबाट क्याच आउट भए ।
पहिलो विकेटका लागि मार्क वाटसँग मन्सीले ३४ रनको साझेदारी गरे । वाट ९ बलमा ९ रन जोड्दै रुपेश सिंहको बलमा बोल्ड आउट भए । तेस्रो विकेटका लागि मन्सीले ब्रण्डन मकमलनसँग ५६ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरे। मकमलन ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा ४२ रनमा आउट भए।
माइकल लिस्क १७ बलमा २६ तथा म्याथ्यु क्रस १३ बलमा १७ रन बनाउदै अविजित रहे। कप्तान रिची बेंरिग्टन ९ रन बनाउँदै कुशलको बलमा लोकेश बमद्वारा समातिए।
नेपालका लागि कुशलले २, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेशले समान १ विकेट लिए। स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहदै सिरिजको च्याम्पियन भएको छ। पराजित नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ अंक तालिकाको दोस्रो स्थानमा छ। समान अंक रहे पनि रनरेटमा पछि रहेर नेपाल दोस्रो स्थानमा रहन पुग्यो।
