यु-१६ क्रिकेट: नेपालसँग सिंगापुर पराजित
काठमाडौं। एसिसि मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ। नेपालले आइतवार मलेसियामा सम्पन्न भएको खेलमा ६ विकेटको जित हासिल गर्यो। १ सय ३९ रनको सामान्य लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा ओपनर प्रसिद्ध जैशीले ९७ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ५५ रन जोडे। रौनक श्रीवास्तव ४४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४० रनमा आउट भए। सिंगापुरका लागि आकाश तेजाले ३ तथा युभान पाण्डेले १ विकेट लिए।
त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि कप्तान रियन नायक ५३ बलमा ९ चौकाको सहयोगमा ५३ रन जोड्दै आउट भए । ओपनर आहान भुधानभाम ३३ बलमा ३८ तथा अर्का ओपनर रोशन अरुन ११ रनमा आउट भए।
नेपालका लागि कप्तान विपिन शर्माले ४, सचिन भट्टले ३ तथा शुभम खनाल र अभय यादवले समान १ विकेट लिए । पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ।
गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोलीको छनोट गरिएको थियो।
प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो। दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ।
