रास्वपाका अनेक हर्कत,राजनीतिक प्रतिशोध भन्दै जनतासँग असुली गर्दै
कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेजस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा यतिबेला यही उखान चरितार्थ भएको छ। जनताको जीवनस्तर सुधार गर्ने अभिलाषा बोकेर उदाएको यो पार्टी यति स्टन्टबाजमा रमाउला भन्ने कसैले कल्पना पनि गरेका थिएनन्।
स्थापनाकालमा यो पार्टीले जनतालाई भ्रममा पारेको कुरा बिस्तारै सावित हुँदैछ । यो पार्टीले जनतालाई ‘जान्नेलाई छान्ने’ नाममा भ्रममा पारेको प्रष्ट भएको छ। ‘जान्नेलाई छान्ने’ नाराका साथ यो पार्टी निर्वाचनमा होमिएको थियो। यही नाराले यो पार्टीलाई मुलुकको चौथों ठूलो दलको रुपमा स्थापित गरायो भन्दा फरक नपर्ला। पार्टीमा जान्ने व्यक्ति नभएका होइनन्। जिम्मेवार पदहरुमा पार्टीले राम्रै व्यक्तिहरुलाई अघि सारेको थियो।
तर, पार्टी सभापति रवि लामिछानेका कारण यो पार्टी हाल बेहाल अवस्थामा छ। जनताका लागि काम गर्ने र पुराना दलहरुलाई परास्त गर्ने यो पार्टी यतिबेला भने व्यापक स्टण्टबाजमा रमाइरहेको छ। पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा कारागार जीवन बिताइरहेका छन्।
मुलुकको प्रचलित कानुन, विधि, प्रक्रियाले लामिछानेलाई सजाय दिइरहेको छ। यसलाई मुख्य मुद्दा बनाएको रास्वपा र रास्वपाका नेताहरुले यसलाई राजनीति प्रतिशोधको संज्ञा दिइरहेका छन्। जबकि यो न राजनीतिक प्रतिशोध हो, न अरु केही। यो त पीडितलाई न्याय दिनका लागि गरिएको प्रक्रिया मात्र हो। जान्नेलाई छान्नेहरुले यो कुरा बुझेका छैनन्।
सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि रवि हाल भैरहवा कारागारमा छन्। पार्टी सभापति जेलमै रहेका बेला रास्वपाले ‘रवि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर’ अभियान अघि बढाएको छ।
यो जायज थियो या थिएन त्यो त आगामी दिनमा प्रष्ट होला नै । तर, यो प्रथम दृष्टिमै जायज छैन। मुलुकका अड्डा, अदालतले कानुनअनुसार अघि बढाएको प्रक्रियालाई नै यसले गुमराहमा राख्ने काम गरिरहेको छ। जनताको हस्ताक्षरले रवि लामिछानेलाई जेलमुक्त गर्ने होइन।
त्यसका लागि प्रक्रियागत कुराहरु पर्खिनुपर्ने हुन्छ। रास्वपाको यो अभियानले मुलुकको कानुनमाथि नै धावा बोलिरहेको छ। सामान्य मानिसले दुखजिलो गरेको रकम अपचलन गरेको प्रष्ट भइसकेको छ।
यति हुँदाहुँदै पनि जनतालाई भ्रममा पार्न रास्वपाले यस खालका भ्रमहरु छरिरहेको छ। सस्तो लोकप्रियताका लागि यो ठिकै पनि होला तर यसले मुलुकमा विधिको शासन स्थापित गर्दैन। बरु यसले विधिको शासनलाई कमजोर बनाउनेछ।
एकजना व्यक्तिको विषयलाई लिएर यस खालको फण्डा मच्चाउने रास्वपाले जनताको हितमा के काम गर्ला ?त्यो बुझ्न कठिन छैन । रवि लामिछानेका समर्थकहरु नभएका होइनन् । देशभर उनका कट्टर समर्थकहरु छन् । यो हस्ताक्षर अभियानमा देशव्यापी सहभागिता पनि चलिरहेको छ।
हस्ताक्षर अभियानकै नाममा रास्वपाले आर्थिक रकम पनि उठाइरहेको छ। हस्ताक्षर फारममा आर्थिक सहयोगका लागि भन्दै खाता विवरण राखिएको छ। हस्ताक्षर अभियानका नाममा रास्वपाले चन्दा समेत उठाइरहेको छ। हस्ताक्षर गर्ने स्थानमा चन्दा संकलनका लागि क्युआर कोड नै राखिएको छ। यसमार्फत रास्वपाले रकम संकलन गरिरहेको छ।
हुनत रास्वपाले विभिन्न नाममा यस खालका आर्थिक अभियानहरु चलाउँदै आएको छ । त्यो रकम कहाँ र कुन प्रयोजनका लागि खर्च हुन्छ कसैलाई थाहा हुँदैन।
अहिले हस्ताक्षर अभियानका रुपमा रास्वपाले उठाइरहेको यो रकम रवि लामिछानेको मुद्दा लड्नका लागि खर्च हुने आँकलन गरिएको छ। यसरी अघि बढाएको अभियानले सहयोग रकम राम्रै जुट्ला पनि । त्यो रकमको पारदर्शितामा प्रश्नहरु स्वभाविक रुपमा उठ्नेछन् । त्यसको जवाफदेहिता रास्वपाले कति देखाउँछ भन्ने हेर्न बाँकी छ ।
यसअघि रास्वपाले रवि लामिछानेलाई बचाउन हरसम्भव प्रयास गरेको थियो । पार्टीले देशव्यापी सडक प्रदर्शन पनि गरेको थियो । विधि र प्रक्रियाका अघि यो प्रदर्शनको केही सिप चलेन।
यसरी हेर्दा जनताको पक्षमा काम गर्ने हेतुले उदाएको नयाँ पार्टी र नयाँ नेताहरु सस्तो लोकप्रियताका लागि मात्र रहेछन् भन्ने स्पष्ट भएको छ। जनताले बिस्तारै रास्वपाका हर्कत र कर्तुतहरु थाहा पाउँदैछन् ।
बाँकी कुराहरु पनि बाहिर आउनेछन्। यस्ता गतिविधिहरुले छोटो समयमै उदाएको रास्वपाको स्थिति चिन्ताजनक अवस्थामा पु¥याएको छ। रास्वपा र रास्वपाका नेताहरुले बेलैमा बुद्धि पु¥याए भने सबैको भविष्य उज्जवल नै छ। तर, यस्तो हुँदै जाने हो भने रास्वपाको ‘मिसन–८४’ केवल व्यर्थ सावित हुनेछ। त्यसपछि पुराना दल र नेताहरुकै वर्चस्व हुनेछ।
