पतन्जली जग्गा काण्डले माधवकुमार नेपालको नेतृत्व संकटमा, झलनाथ खनालसम्मले उठाउन थाले अध्यक्ष फेर्नुपर्ने आवाज

काठमाडौं। पतन्जली जग्गा काण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको राजनीतिक करियरमा गहिरो प्रभाव पारेको छ। आफ्नै पार्टिका नेताहरूले उठाएको प्रश्न र पार्टीभित्र बन्दै गएको प्रतिकूल अवस्थाका कारण नेपालको नेतृत्व अब संकटमा परेको छ।

सुरुमा एकल आवाजको रूपमा देखिएको रामकुमारी झाक्रीको विरोध अब व्यापक आकार लिन थालेको छ। झाक्रीले यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा आफ्ना अध्यक्ष नेपालविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन्।

उनले पार्टीमा ठुलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्नेू बताउँदै मरेको सिनो बोकेर हिँड्न नसकिनेू भनेर माधवकुमार नेपालको नेतृत्वमाथि प्रश्न उठाएकी थिइन्।

त्यसबेला अवस्था अझै नेपालकै पक्षमा थियो। पार्टीका धेरैजसो नेताहरूले झाक्रीको अभिव्यक्तिलाई गलत ठहराएका थिए र उनी नै पार्टिबाट निष्कासित हुनसक्ने आकलन गरिएको थियो। यसैका आधारमा पार्टीको केन्द्रीय सचिवालय बैठकले झाक्रीले व्यक्त गरेका अभिव्यक्तिहरू आपत्तिजनक रहेको भन्दै उनलाई आत्मआलोचना गर्न ७ दिनको समय दिएको थियो।

तर झाक्री आफ्नो अडानमा टसको मस भएकी छैनन्। उनले सञ्चारमाध्यममा बताएजस्तै उपाध्यक्षको समेत सहकारी ठगीमा नाम जोडिएको खबरहरू बाहिरिएका छन्। यसले झाक्रीको अभिव्यक्तिलाई माथि नभएर सिस्टम बसाउने र पार्टीको हितमा भएको भाष्यमा बल पुर्याएको छ।

अब स्थिति फेरिएको छ। माधवकुमार नेपालमाथि प्रश्न उठाउनेमा पार्टिका सम्मानित नेता झलनाथ खनाल समेत थपिएका छन्। शनिबार चीनबाट फर्किएका खनालले नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरूले पनि प्रश्न गरिरहेको बताएका हुन्।

खनालले सचिवालय बैठकमा आफूले यही विषयमा केन्द्रित रहेर एउटा दस्तावेज पेस गरेको बताएका छन्। उनले उक्त दस्तावेजमाथि छलफल भएपछि बाँकी कुरा भन्ने समेत बताएका छन्।

यसरी एकातिर पतन्जली जग्गा काण्डले माधवकुमार नेपालको छवि धमिलो पारेको छ भने अर्कोतिर सहकारी ठगीको नयाँ प्रसंगले उनको राजनीतिक स्थितिलाई थप कमजोर बनाएको छ। पार्टीभित्र माधवकुमार नेपालको नेतृत्वमाथि उठेको प्रश्नले उनको राजनीतिक भविष्य अनिश्चित बनाएको छ। अब हेर्ने कुरा यो हो कि माधवकुमार नेपालले यस संकटलाई कसरी सम्बोधन गर्छन् र आफ्नो नेतृत्वलाई कसरी जोगाउँछन्।