सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) विश्वासको मत लिँदै छन् । उनले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमाले र कांग्रेसले ह्वीप जारी गरेको छ । एमाले र कांग्रेसले आफ्ना सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन र विश्वासको पक्षमा मत हाल्न निर्देशन दिएको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक हुन्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा बहुमत सजिलै पुग्छ। तर, शाह नेतृत्वको सरकारले दुई तिहाई भने गुमाउनेछ ।
प्रदेशसभामा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ , एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १–१ जना सांस्द छन् ।
