वर्तमान सरकार ८४ सम्म नै रहन्छ: नेता कोइराला

मोरङ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव दिए।

केन्द्रीय सदस्य डा.कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रकिया भए अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे।

उनले नेपालको संविधानले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राखे। गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमती कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

एक प्रश्नको जवाफमा नेता डा कोइरालाले नेकांमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए। एक फरक प्रसङगमा उनले नेकांको महाधिवेशन तोकिएको समय विस २०८२ मा हुने विचार राखे।