रवि लामिछानेको निवेदनमा आज सुनुवाइ, रिहा हुने सम्भावना कति?

काठमाडौं । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै रूपन्देही अदालतमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ ।

लामिछानेले बिगो वापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक दाखिला गरिदिएको बताएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी भैरहवा कारागारमा छन्।

त्यस्तै जिल्ला अदालतले गरेको आदेश कैफियत भएको भन्दै उच्चअदालतले पुनः पुर्पक्षका लागि जेल चलाउन गरेको थियो भने लामिछाने उच्चकाे आदेशविद्ध पुनः  सर्वोच्च अदालत पुगेका थिए तर सर्वोच्च अदालतले उच्चकै आदेश सदर गरेपछि थुनामै बस्नु परेको थियो। 

कानुनका जानकारहरूका अनुसार लामिछाने अहिले आफ्नो भागको बिगाे तिरेर निस्किने कुनै कानुनी आधार नभएको बताएका छन्।