रवि लामिछानेलाई थुनामै राख्न आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले यो आदेश दिएको हो ।
सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको रकम फिर्ता गर्न आफ्नो भागको बिगो बराबरको जमानतमा रिहाइ मागेका थिए ।
साउन १९ गते दायर निवेदनमा उनले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैङ्क जमानत पनि बुझाएका थिए । तर, न्यायाधीश सापकोटाको इजलासले उनको निवेदन अस्वीकृत गर्दै थुनामै राख्ने निर्णय सुनायो ।
यसअघि चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पनि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसलाई सर्वोच्च अदालतले समेत सदर गरेको छ ।
